समाचार सारांश
- यो घटनाले संयुक्त राष्ट्रसंघको चार्टर, राष्ट्रहरूको आत्मनिर्णयको अधिकार र अन्तर्राष्ट्रिय कानुनको औचित्यमाथि नै प्रश्न उठाएको छ।
- इराकमा सद्दाम हुसेनमाथिको आक्रमण, लिबियामा मुअम्मर गद्दाफीको हत्या, अफगानिस्तानमा दशकौँ लामो युद्ध—यी सबै घटनाहरू एउटै साम्राज्यवादी रणनीतिका फरक–फरक रूप हुन्।
- असफल राज्य’को संज्ञा दिइन्छ। यो ढाँचा इरान, इराक, लिबिया र अहिले भेनेजुयलामा स्पष्ट देखिन्छ।
- संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरू शक्तिशाली राष्ट्रहरूको भूराजनीतिक स्वार्थअगाडि निरीह बनेका छन्।
प्रतिमा शाही
सार्वभौम र स्वतन्त्र राष्ट्र भेनेजुयलामाथि अमेरिकाले सैन्य आक्रमण गरी राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिनु केवल एउटा देशमाथिको हस्तक्षेप मात्र होइन, यो दोस्रो विश्वयुद्धपछि निर्माण गरिएको अन्तर्राष्ट्रिय विश्वव्यवस्थामाथिको गम्भीर प्रहार पनि हो।
यो घटनाले संयुक्त राष्ट्रसंघको चार्टर, राष्ट्रहरूको आत्मनिर्णयको अधिकार र अन्तर्राष्ट्रिय कानुनको औचित्यमाथि नै प्रश्न उठाएको छ।
अमेरिकाको विदेश नीति इतिहास हेर्ने हो भने भेनेजुयलाको घटना कुनै अपवाद होइन। ल्याटिन अमेरिका, मध्यपूर्व, अफ्रिका र एसियाका दर्जनौँ राष्ट्रहरूमा अमेरिकाले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सत्ता परिवर्तन, सैनिक हस्तक्षेप र गृहयुद्धलाई मलजल गर्दै आएको तथ्य अन्तर्राष्ट्रिय दस्तावेजहरूले प्रमाणित गरिसकेका छन्। चिलीमा साल्भाडोर आयेन्देको सरकार ढालिनु, इराकमा सद्दाम हुसेनमाथिको आक्रमण, लिबियामा मुअम्मर गद्दाफीको हत्या, अफगानिस्तानमा दशकौँ लामो युद्ध—यी सबै घटनाहरू एउटै साम्राज्यवादी रणनीतिका फरक–फरक रूप हुन्।
भेनेजुयलामा राष्ट्रपति मदुरोमाथि लगाइएका आरोपहरू पनि यही रणनीतिक ढाँचाभित्र पर्छन्। ‘मानवअधिकार उल्लङ्घन’, ‘तानाशाही’ र ‘लोकतन्त्रको रक्षा’ जस्ता शब्दहरू प्रयोग गरेर गरिने हस्तक्षेप वास्तवमा भूराजनीतिक स्वार्थ र प्राकृतिक स्रोतको नियन्त्रणसँग जोडिएको देखिन्छ।
भेनेजुयला विश्वकै सबैभन्दा ठूलो तेल भण्डार भएको राष्ट्र हो। यही कारण यो देश लामो समयदेखि अमेरिकी रणनीतिक दृष्टिकोणको केन्द्रमा रहँदै आएको थियाे। जब कुनै राष्ट्र आफ्ना स्रोतहरूमा राष्ट्रिय नियन्त्रण कायम गर्न खोज्छ र अमेरिकी नीतिगत निर्देशन अस्वीकार गर्छ, तब त्यसलाई ‘असफल राज्य’को संज्ञा दिइन्छ। यो ढाँचा इरान, इराक, लिबिया र अहिले भेनेजुयलामा स्पष्ट देखिन्छ।
अन्तर्राष्ट्रिय राजनीतिमा ऊर्जा स्रोतहरू केवल आर्थिक विषय होइनन्, ती शक्ति सन्तुलनका आधार हुन्। भेनेजुयलामाथिको आक्रमण चीन, रुस र अन्य उदीयमान शक्तिहरूसँगको प्रतिस्पर्धाको पृष्ठभूमिमा पनि बुझ्न आवश्यक छ। आजको विश्व बहुध्रुवीय (Multipolar) दिशातर्फ उन्मुख हुँदै गर्दा अमेरिकी एकाधिकारवादी प्रभुत्व गम्भीर चुनौतीमा परेको देखिन्छ ।
इराकमा आमविनाशकारी हतियार लुकाइराखेको झुटो आरोप लगाउँदै गरिएको अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमै सबैभन्दा ठूलो छलमध्ये एक मानिन्छ। त्यस आक्रमणपछि लाखौँ नागरिक मारिए, राज्य संरचना ध्वस्त भयो र आजसम्म इराक स्थिर हुन सकेको छैन। तर त्यो घटनाबाट न त अमेरिका जिम्मेवार ठहरियो, न त अन्तर्राष्ट्रिय कानुनले न्याय दिन सक्यो।
आज भेनेजुयलामा पनि त्यही शैली दोहोरिँदैछ। प्रमाणविहीन आरोप, आर्थिक नाकाबन्दी, कूटनीतिक दबाब र अन्ततः सैनिक हस्तक्षेप—यो साम्राज्यवादी कार्यविधिको पूर्ण एक चक्र हो।
विश्व व्यवस्थाको मूल संकट पुँजीवादी–साम्राज्यवादी संरचनामा निहित छ। युद्ध आज कुनै आकस्मिक घटना होइन, यो हतियार उद्योग, बहुराष्ट्रिय कम्पनी र वित्तीय पूँजीका लागि योजनाबद्ध व्यापार हो। यही कारण विश्वका धनी राष्ट्रहरूमा शान्ति देखिए पनि गरिब राष्ट्रहरू सधैं युद्ध र अशान्तिको केन्द्र बनाइन्छन्।
संयुक्त राष्ट्रसंघ जस्ता संस्थाहरू शक्तिशाली राष्ट्रहरूको भूराजनीतिक स्वार्थअगाडि निरीह बनेका छन्। सुरक्षा परिषद्को संरचनाले नै अन्तर्राष्ट्रिय न्यायलाई असमान बनाएको छ, जहाँ केही देशहरू कानुनभन्दा माथि छन्।
भेनेजुयलामाथिको आक्रमणले विश्व समुदायलाई स्पष्ट सन्देश दिएको छ—यदि सामूहिक प्रतिरोध र वैकल्पिक दृष्टिकोण विकसित गरिएन भने कुनै पनि स्वतन्त्र राष्ट्र सुरक्षित छैन। अब आवश्यकता छ अन्तर्राष्ट्रिय ऐक्यबद्धता, क्षेत्रीय सहयोग र जनकेन्द्रित विश्वव्यवस्थाको।
वैकल्पिक विश्वव्यवस्था भनेको कुनै एक शक्ति केन्द्रको प्रभुत्व होइन, समानता, पारस्परिक सम्मान र शान्तिपूर्ण सहअस्तित्वमा आधारित संरचना हो। यही दिशामा अघि बढ्नु नै युद्ध, गरिबी र अशान्तिबाट मुक्ति पाउने एकमात्र उपाय हो।
भेनेजुयलाको पक्षमा उभिनु केवल एक राष्ट्र वा एक नेताको समर्थन होइन, यो अन्तर्राष्ट्रिय कानुन, विश्व शान्ति र मानव सभ्यताको भविष्यको पक्षमा उभिनु हो। इतिहासले प्रमाणित गरिसकेको छ—साम्राज्यवाद क्षणिक हुन्छ, तर जनताको संघर्ष दीर्घकालीन हुन्छ।
आज आवाज उठाउने कि मौन बस्ने भन्ने प्रश्न केवल भेनेजुयलाको होइन, सम्पूर्ण विश्वको भविष्यसँग जोडिएको प्रश्न हो।










प्रतिक्रिया दिनुहोस्