२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

कालीकोटमा सामुदायिक विद्यालयको रूपान्तरण : पञ्चदेवल मावि बन्यो अभिभावकको पहिलो रोजाइ



 

अशाेक शाही
कालीकोट, पुस २६।
कालीकोटका सामुदायिक विद्यालयहरू पछिल्लो समय व्यवस्थापन र शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार गर्दै ‘अब्बल’ बन्न थालेका छन्। दरिलो नेतृत्व, शिक्षकको प्रतिबद्धता र समुदायको सक्रिय सहभागिताले सामुदायिक विद्यालयप्रतिको आम सोचमा सकारात्मक परिवर्तन आएको छ।

सान्नी त्रिवेणी गाउँपालिकामा रहेको पञ्चदेवल माध्यमिक विद्यालय यसको ज्वलन्त उदाहरण बनेको छ। प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकबीचको सुमधुर सहकार्यका कारण विद्यालयले व्यवस्थापन र सिकाइ दुवै पक्षमा उल्लेखनीय फड्को मारेको हो। यसको प्रत्यक्ष असर विद्यार्थी भर्ना र अभिभावकको विश्वासमा देखिन थालेको छ।

विद्यालयमा नियमित खेलकुद, अतिरिक्त क्रियाकलाप र विद्यार्थीमैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइएको छ। विद्यार्थीको पढाइ, सरसफाइ र व्यवहारिक पक्षको नियमित अनुगमन गर्दै अभिभावकसँग निरन्तर छलफल गर्ने अभ्यासले विद्यालयलाई अझ प्रभावकारी बनाएको प्रधानाध्यापक हिरामणि सिम्खाडाले बताए।

उनका अनुसार विद्यालयलाई समयसापेक्ष बनाउन विद्यालय सुधार योजना, शैक्षिक योजना, लगबुक, नमुना कक्षाकोठा व्यवस्थापन जस्ता कार्यहरू लागू गरिएका छन्। दुर्गम बस्तीमा रहे पनि शैक्षिक स्तर उकास्न शिक्षकहरूले विशेष कार्ययोजना बनाई प्रतिबद्धताका साथ कार्य गरिरहेका छन्।

वि.सं. २०१६ मा स्थापना भएको पञ्चदेवल माध्यमिक विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म अध्ययन हुने गरेको छ। विद्यालयमा प्राविधिक धार, विज्ञान प्रयोगशाला र स्मार्ट कक्षा सञ्चालनमा आएपछि विद्यार्थीको आकर्षण झनै बढेको छ। कक्षा ९ देखि १२ सम्म प्राविधिक धार अन्तर्गत अध्ययन सुरु गरिएको छ।

कक्षा ९ का विद्यार्थीका अनुसार“पहिले किताबबाट मात्र पढ्दा बुझ्न गाह्रो हुन्थ्यो, अहिले विज्ञान प्रयोगशालामा प्रत्यक्ष प्रयोग गर्दा विषय प्रस्ट बुझिन्छ।” विद्यालयमा छलफलमुखी शिक्षण पद्धति अपनाइएको उनले बताए।

यहाँ विद्यार्थीलाई सजायभन्दा पनि सल्लाह, सुझाव र हौसलामार्फत सिकाइ गराइन्छ। मध्यम र कमजोर विद्यार्थीका लागि उपचारात्मक कक्षा सञ्चालन गरिएको छ भने अंग्रेजी माध्यमबाट समेत पढाइ हुँदै आएको छ। प्रधानाध्यापक हिरामणि सिम्खाडाको नेतृत्वपछि विद्यालयले केवल काँचुली फेरेन, गुणस्तरीय शिक्षाको नमुना नै बन्न सफल भएको स्थानीयहरू बताउँछन्।

हाल विद्यालयमा ४५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। किर्डाक नेपाल कालीकोट र प्लान इन्टरनेसनल नेपालको सहयोगमा सञ्चालित सशक्त बालिका परियोजनाअन्तर्गत छात्रा टिकाइका लागि महिनावारी आराम कक्ष, हरित विद्यालय प्रवर्धन, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप तथा बृहत् यौनिकता शिक्षा कार्यक्रम लागू गरिएको किर्डाक नेपालका अनुगमन तथा मूल्यांकन अधिकृत प्रेम चौलागाईंले जानकारी दिए।

विद्यालयमा बिहान ९:५० बजे नियमित रूपमा शिक्षक र विद्यार्थी उपस्थित हुने व्यवस्था छ। हाल ५६ जना विद्यार्थी प्राविधिक धार अन्तर्गत कम्प्युटर इन्जिनियरिङ अध्ययन गरिरहेका छन्। यद्यपि बढ्दो विद्यार्थी चापका कारण विद्यालयमा भवन अभाव रहेको विद्यालय प्रशासनले जनाएको छ।

सकारात्मक परिवर्तनसँगै पञ्चदेवल माध्यमिक विद्यालय कालीकोटका सामुदायिक विद्यालयका लागि प्रेरणाको केन्द्र बन्दै गएको छ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार