काठमाडौं ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नागरिकका समस्या, आवश्यकता र माग पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने उद्देश्यसहित कात्तिक ७ गतेदेखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। मङ्सिर २५ गतेसम्म चल्ने उक्त अभियान पार्टीको केन्द्रीय संयोजन समितिले गत असोज २३ गते गरेको निर्णयअनुसार अघि बढाउन लागिएको हो।
अभियानमार्फत देशमा बढ्दो महँगी, भ्रष्टाचार, कालोबजारी, बेरोजगारी र असुरक्षालगायत जनताले दैनिक जीवनमा भोगिरहेका समस्यालाई प्राथमिकताका साथ उठाइने पार्टीले जनाएको छ। नागरिकका माग सम्बोधन गर्न प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्री तथा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र र मागपत्र बुझाउने कार्यक्रमसमेत तय गरिएको छ।
त्यसैगरी, जनताका समस्या र समसामयिक विषयमा छलफल गर्न देशका विभिन्न क्षेत्रमा जनभेला, अन्तरक्रिया, गोष्ठी तथा पत्रकार सम्मेलन आयोजना गरिनेछ। अभियानले जनताका आवाज सम्बन्धित निकायसम्म पुर्याउनुका साथै समस्या समाधानका लागि आवश्यक दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ।
नेकपाले अभियान अवधिमा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, क्षतिपूर्ति तथा पुनःस्थापनाका लागि समेत पहल गर्ने जनाएको छ। यसका अतिरिक्त जनसेवा र जनचेतना अभिवृद्धिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरी नागरिकका आवश्यकता र समस्यासँग प्रत्यक्ष जोडिने पार्टीको योजना रहेको छ।










प्रतिक्रिया दिनुहोस्