२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

“जेन जी विद्रोह” ले ल्याएको संकट: भ्रष्टाचार, अस्थिरता र समाधानको खोजी



“जेन जी विद्रोह” ले ल्याएको संकट: भ्रष्टाचार, अस्थिरता र समाधानको खोजी

कमल कुमार शाही, स्वाभिमान खबर

असोज १०, सुर्खेत।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) द्वारा आयोजित “जेन जी विद्रोह, नयाँ परिस्थिति र निकास” विषयक अन्तरक्रिया कार्यक्रमले नेपालमा व्याप्त भ्रष्टाचार, राजनीतिक अस्थिरता र नयाँ पुस्ताको आक्रोशलाई प्रमुख बहसको रूपमा उभ्याएको छ। कार्यक्रममा सहभागी नेता तथा युवाहरूले ‘जेन जी’ ले शुरू गरेको आन्दोलनलाई दमन गर्नुको साटो यसको गहिराइमा पुगेर निकास खोज्नुपर्नेमा जोड दिएका छन्।

३५ वर्षको दलिय व्यवस्था असफल

कार्यक्रमका प्रमुख अतिथि, नेकपाका पोलिटब्युरो सदस्य आधार सीले विगत ३५ वर्षको बहुदलीय अभ्यासले जनतालाई न्याय दिन नसकेको र भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले “भ्रष्टाचार अन्त्य नगरेसम्म कुनै पनि व्यवस्थाले काम नगर्ने” दाबी गरे।
नेकपाकै अध्यक्ष जित सीले जेन जीको विद्रोहलाई २० वर्षको तयारीपछिको सचेत आन्दोलनको रूपमा व्याख्या गरे। कार्यक्रम सञ्चालन गरेका धुब्र सीले “विद्रोहलाई दमनले होइन, बरु सम्बोधन र समाधानले मात्र अन्त्य गर्न सकिने” भन्दै शक्तिशाली छानबिन आयोग गठनको माग गरे।
विद्रोहको तारो: नेता र कर्मचारीतन्त्र दुवै
अन्तरक्रियामा सहभागी युवाहरूले भ्रष्टाचारमा नेता मात्र नभई कर्मचारीतन्त्र पनि उत्तिकै दोषी रहेको औंल्याए। “आगजनीमा फाइल जलेको बहानामा दोषी उम्कन दिनु हुन्न,” एक सहभागीले भने।
राष्ट्रिय जनमोर्चाका नेता विष्णु शर्माले जेन जी आन्दोलनलाई सामाजिक सञ्जाल र भ्रष्टाचारविरुद्धको मात्र नभई साम्राज्यवादविरुद्धको पनि आन्दोलन भएको टिप्पणी गरे। उनले “जनयुद्धले ल्याउन नसकेको परिवर्तन नयाँ पुस्ताले दुई दिनमै देखाएको” भन्दै नयाँ पुस्ताको शक्तिको प्रशंसा गरे।

संविधान पुनःलेखनको माग

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खडक केसिले वर्तमान संविधान र सरकार दुवैले जनताको विश्वास गुमाएको बताए। उनले देशको संकट समाधानका लागि संविधान पुनःलेखनको विकल्प नभएको धारणा राखे।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्ष बविराम पुरीले विदेशी हस्तक्षेप र राष्ट्रिय स्वाधीनतामाथि भइरहेको खेल अब सह्य नहुने चेतावनी दिए। उनले “चुच्चे नक्सा र लिपुलेकको आवाज दबाइनु विदेशी दबाबको उपज हो” भने।
नयाँ पुस्ताका वैकल्पिक मागहरू
अन्तरक्रियाको निष्कर्षमा जेन जी पुस्ता केवल आक्रोशित मात्र नभई उनीहरूसँग वैकल्पिक विचार र समाधानका उपायहरू पनि रहेको प्रस्ट भएको छ। उनीहरूले तत्काल सम्बोधन गर्नुपर्ने मुख्य मागहरू यसप्रकार छन्:

भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग गठन
संविधान पुनःलेखन
आत्मनिर्भर अर्थनीतिको निर्माण
कम्युनिस्ट एकता
राष्ट्रिय स्वाधीनताको रक्षा
यी मागहरूलाई बेवास्ता गरेमा मुलुक थप अस्थिर हुने चेतावनी सहभागीहरूले दिएका छन्।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार