अशाेक
कालिकोट, असार १५ –
कालिकोट जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर ६ मा अवस्थित कालासिल्ला माध्यमिक विद्यालयले एक उदाहरणीय कार्य गर्दै वर्षौंदेखि बाँझो रहेको खेतमा धान रोपाइँ गरेको छ।
विद्यालयले राष्ट्रिय धान दिवसको अवसर पारेर स्थानीय स्तरमा देवता रिसाएको भन्ने अन्धविश्वासका कारण खेती नगरिएको करिब ५ रोपनी जग्गामा धान रोपेर परम्परागत मान्यतालाई चुनौती दिएको हो।
विद्यालयका प्रधानाध्यापक देवराज चौलागाईंका अनुसार आगामी शैक्षिक सत्रदेखि एसईई परीक्षालाई लक्षित गरी आवासीय विद्यालय सञ्चालन गर्ने योजनाअनुरुप विद्यार्थीहरूको भोजन व्यवस्थापनका लागि विद्यालयको बाँझो जग्गामा धान खेती गरिएको हो। उत्पादित धान विद्यालयकै विद्यार्थीहरूको लागि प्रयोग गरिने विद्यालयले जनाएको छ।
शिक्षक गोर्ख बहादुर शाहीले नगरपालिकाको सहकार्यमा विद्यालयले यो कार्य सम्पन्न गरेको जानकारी दिए। रोपाइँ कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, कर्मचारी र रास्कोट नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
प्रधानाध्यापक चौलागाईंले स्थानीय अन्धविश्वासलाई चिर्दै गरिएको यो कार्यले कृषि उत्पादनमा सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरे। स्थानीयवासीले पनि विद्यालयले शिक्षासँगै व्यवहारिक ज्ञान र कृषि महत्वलाई जोड दिएकोमा खुसी व्यक्त गरेका छन्।
रास्कोट नगरपालिकाका नगर प्रमुख धर्म राज शाहीले आगामी दिनहरूमा नगरभित्र रहेका अन्य बाँझो खेतीयाेग्य जमिनहरूमा पनि नगरपालिकाले खेती गरी आयआर्जन गर्ने योजना रहेको र यसबाट नगरको आर्थिक विकासमा टेवा पुग्न सक्ने नगर प्रमुख शाहीले बताउनु भयाे ।
राष्ट्रिय धान दिवसको अवसरमा सम्पूर्ण कृषकहरूलाई नगर प्रमुख र उप प्रमुख मनिराज बरालले शुभकामना समेत व्यक्त गर्नु भएकाे थिया ।
विद्यालयले शिक्षासँगै कृषि क्षेत्रमा देखाएको यो सक्रियताले अन्य विद्यालय र समुदायलाई पनि सकारात्मक प्रेरणा दिने अपेक्षा नगरवासिले गरेका छन।
फाेटाे















प्रतिक्रिया दिनुहोस्