२०८३ कात्तिक १५ , शनिबार
ताजा अपडेट:

जबराको पक्राउबारे मानव अधिकार आयोगले एसएसपी खड्कालाई बोलायो



१२ असोज, काठमाडौं ।

राष्ट्रिय मानव अधिकार आयोगले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ र त्यसको अनुगमन गर्न आयोगको टोलीलाई रोकिएको विषयमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कासँग छलफल गर्ने भएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार प्रहरी प्रधान कार्यालयमार्फत एसएसपी खड्कालाई मंगलबार आयोगमा उपस्थित हुन बोलाइएको हो। पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि आयोगको टोली अनुगमनका लागि टेकुस्थित कार्यालय पुगे पनि अनुगमन गर्न नपाएको विषयमा स्पष्ट जानकारी लिन उनलाई बोलाइएको आयोगले जनाएको छ।

आयोगको टोली आइतबार जबराको पक्राउसम्बन्धी अवस्थाको अनुगमन गर्न टेकु पुगेको थियो। तर, प्रहरीले टोलीलाई करिब एक घण्टा गेटमै प्रतीक्षा गराएपछि कार्यालयभित्र प्रवेश गर्न नदिई फर्काएको आयोगको भनाइ छ।

घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगले आइतबार नै विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको थियो। अब आयोगले एसएसपी खड्कासँग घटनाबारे जानकारी लिएर आयोगको अनुगमनमा अवरोध हुनुको कारणबारे छलफल गर्ने जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार