२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

विद्यालयको करोडौंको बालुवा प्रधानाध्यापक र छोराद्वारा बिक्री, खेलमैदान भताभुङ्ग



धादिङ

सिद्धलेक गाउँपालिका–७ स्थित महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक र उनका छोराले गरेको अनियमितता सार्वजनिक भएको छ। प्रधानाध्यापक लालबहादुर विक र उनका छोरा रमेश विकले विद्यालयको जग्गा र खेल मैदानबाट अवैध रूपमा बालुवा उत्खनन् गरी ४ करोड २० लाख रुपैयाँभन्दा बढीमा बिक्री गरेको स्थानीयले बताएका छन्।

प्राप्त जानकारी अनुसार, अहिलेसम्म ६ हजारभन्दा धेरै ट्रिप बालुवा विद्यालय परिसरबाट निकालिएको छ। विद्यालय व्यवस्थापन समितिका एक सदस्यका अनुसार, प्रधानाध्यापक र उनका छोराले प्रतिट्रिप २ हजार १०० रुपैयाँ विद्यालयको कोषमा जम्मा गर्ने सहमति जनाएका थिए। तर, उनीहरूले उक्त रकम व्यक्तिगत खातामा राखेको र विद्यालयलाई नदिएको आरोप छ।

अवैध बालुवा उत्खननका कारण विद्यालयको खेल मैदान पूर्ण रूपमा क्षति भएको छ। विद्यार्थीहरूले खेल्ने ठाउँ अहिले तहसनहस भएको छ। प्रधानाध्यापक विकले बालुवा तस्करीलाई सहज बनाउन विद्यालय व्यवस्थापन समितिमा आफ्ना विश्वासपात्रहरूलाई नियुक्त गरेको स्थानीयको दाबी छ। समितिमा रहेका अधिकांश सदस्यहरू गैर-अभिभावक रहेको र उनीहरूका छोराछोरी सो विद्यालयमा अध्ययनरत नरहेको बताइएको छ।

विद्यालयको नाममा दर्ता रहेको कित्ता नम्बर ६/ग ५१५ को सार्वजनिक जग्गाबाट ६ हजारभन्दा बढी ट्रिप बालुवा र ढुङ्गा गैरकानुनी रूपमा निकासी गरिएको छ। यसरी निकासी गर्दा प्रति ट्रिप १ हजार ५० रुपैयाँका दरले ६३ लाख रुपैयाँ राजस्व समेत चुक्ता नगरिएको बताइएको छ। यसका साथै विद्यालय परिसरमा रहेका बहुमूल्य खयर जातका रूखहरू पनि कटान गरी बिक्री गरिएको पाइएको छ।

स्थानीयवासीले दिएको जानकारी अनुसार, यो अवैध कार्यको बारेमा थाहा पाएपछि सिद्धलेक गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय, धादिङलाई जेठ २५ गते पत्र लेखी छानबिन र कारबाहीको माग गरेको थियो। तर, गजुरी इलाका प्रहरी कार्यालयका डीएसपी विकास थापाले प्रधानाध्यापक र उनका छोरालाई संरक्षण गरिरहेको आरोप स्थानीयको छ। रमेश विकले कांग्रेस नेताहरू प्रकाश रसाइली र मीन विश्वकर्माको नाम प्रयोग गरी डीएसपीलाई प्रभावित पारेको दाबी गरिएको छ।

यति मात्र नभई रमेश विक र तरुण दलका क्षेत्रीय सभापति विशाल भन्ने रुद्रबहादुर गिरिको मिलेमतोमा गाउँपालिकाले पृथ्वीराजमार्ग–आदमटार सडक ढलानका लागि विनियोजन गरेको ८ लाख रुपैयाँ बजेट पनि दुरुपयोग भएको खुलासा भएको छ। उनीहरूले निर्माण भइसकेको सडक भत्काएर आफ्नो स्वार्थ अनुसार अर्कोतर्फबाट सडक निर्माण गर्न डोजर प्रयोग गरेका थिए। स्थानीयले उनीहरूविरुद्ध उजुरी गर्ने र विरोध गर्नेहरूलाई धम्की दिने गरेको बताएका छन्।


प्रधानाध्यापक लालबहादुरका छोरा रमेश बिक नेपाली काँग्रेसका महासमिति सदस्य हुन्। यो अनियमिततामा नेपाली काँग्रेसका स्थानीय नेता शरण गिरी, वडा अध्यक्ष सानो गिरि, बाघमारा वन उपभोक्ता समितिका अध्यक्ष सिताराम गिरि र तरुण दलका क्षेत्रीय सभापति विशाल (रुद्रबहादुर) गिरि समेतको संलग्नता रहेको स्थानीयले बताएका छन्।

प्रकाशित मिति : २०८२ असार १० गते मंगलबार