२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

कृषकका लागि बनेको भवन अलपत्र, पार्टी स्वार्थमा बजेट सकिएको आरोप



 

कालिकोट ।
नरहरिनाथ गाउँपालिका अन्तर्गत लालु, माल्कोट र कोडबाडाको बीचमा पर्ने रहगाड क्षेत्रमा निर्माण गरिएको कृषि संकलन केन्द्र आफ्नो उद्देश्यबाट विचलित भएको पाइएको छ।

कृषकको उत्पादन संकलन, भण्डारण तथा बजारीकरणका लागि निर्माण गरिएको उक्त भवन विगत लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहँदै आएको स्थानीयले गुनासो गरेका छन्।

स्थानीयका अनुसार कृषि संकलन केन्द्रका रूपमा सञ्चालन हुनुपर्ने भवन कहिले घोडा, खच्चड, गाई, गोरु, भैँसी, बाख्रा जस्ता पशु बाँध्ने मुख्य केन्द्र बनेको छ भने कहिले क्रियाकाज (दाहसंस्कार पूर्व–पश्चातका कर्म) गर्ने स्थानका रूपमा प्रयोग हुँदै आएको छ। यसले राज्यको लगानीको दुरुपयोग भएको भन्दै स्थानीय स्तरमा आलोचना बढ्दै गएको छ।

अझ गम्भीर विषय के छ भने स्थानीय निकायले राज्यको सम्पत्तिलाई व्यवस्थित रूपमा प्रयोगमा ल्याउनुको सट्टा पार्टी कार्यकर्ता र आफन्तलाई खुसी पार्ने उद्देश्यले विभिन्न योजनाको नाममा बजेट खर्च गर्ने गरेको आरोप समेत लागेको छ। कृषि क्षेत्रमा प्रत्यक्ष लाभ पुर्‍याउनुपर्ने संरचना राजनीतिक स्वार्थ र लापरवाहीका कारण अलपत्र परेको स्थानीयको भनाइ छ।

कृषकहरूका अनुसार यदि उक्त संकलन केन्द्र सही रूपमा सञ्चालन गरिएको भए स्थानीय कृषि उत्पादनको मूल्य अभिवृद्धि हुने, बजार पहुँच सहज हुने र किसानको आम्दानी बढ्ने थियो। तर जिम्मेवार निकायको बेवास्ताका कारण भवन प्रयोगविहीन मात्र नभई उद्देश्यविपरीत प्रयोग भइरहेको उनीहरूको गुनासो छ।

यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै स्थानीयले कृषि संकलन केन्द्रलाई तत्काल यसको मूल उद्देश्यअनुसार सञ्चालन गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार