अशाेक शाही
अछाम ।
अछामको रामारोशन गाउँपालिकामा सरकारी सवारी साधनहरूको चरम दुरुपयोग भइरहेको पाइएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सञ्चालनमा स्थानीय निकायको गम्भीर लापरवाही हुँदा जो कोहीले सरकारी सवारी साधन चलाउने गरेको बेथिति सार्वजनिक भएको हो।
भर्खरै, मुजा बगरबाट रामारोशन वडा नम्बर ५ तर्फ जाँदै गरेको एक सु प प्र ०१.००१ब १८०३ नम्बरको सरकारी मोटरसाइकलमा देखिएको दृश्यले यो अराजकतालाई पुष्टि गरेको छ।
उक्त सरकारी मोटरसाइकल एक १६ वर्षीय किशोरले चलाइरहेका थिए। अझ चिन्ताजनक कुरा, उनले मोटरसाइकलमा आफूबाहेक अन्य दुई जनालाई पछाडि बसालेर (कुल ३ जना) कच्ची सडकमा कुदाइरहेका थिए।
ती किशोरसँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) थिएन र उनले सामान्य सुरक्षा मापदण्ड मानिने हेल्मेटसमेत लगाएका थिएनन्। कच्ची र जोखिमपूर्ण बाटोमा तीन जना बोकेर ‘बिन्दास’ तरिकाले हाँकिएको उक्त दृश्यले सरकारी सम्पत्तिको प्रयोगमा रहेको चरम लापरवाही उदाङ्गो पारेको छ।
यसबारे ती किशोरसँग कुराकानी गर्दा उनले दिएको जवाफ झनै आश्चर्यजनक थियो। उनले भने, “यता कसैले केही भन्दैन। हामीहरूले लामो समयदेखि यस्तै गरी सरकारी सवारी साधन चलाउँदै आएका छौं। चलाउन जान्ने जो कोहीले पनि चलाउने गरेका छन्।”
उनको यो भनाइले रामारोशनमा सरकारी सवारी साधनको रेखदेख र सञ्चालनमा कुनै मापदण्ड नभएको र सम्बन्धित निकायको अनुगमन शून्य रहेको देखाउँछ।
एकातिर, नाबालिगलाई सवारी चलाउन दिनु, त्यसमाथि पनि लाइसेन्स र हेल्मेट बिना, अनि क्षमताभन्दा बढी (ओभरलोड) यात्रु बोकेर जोखिमपूर्ण यात्रा गराउनुले गम्भीर दुर्घटनाको जोखिम बढाएको छ।
अर्कोतर्फ, जनताको करबाट किनिएको सरकारी सम्पत्ति यसरी व्यक्तिगत र अनधिकृत व्यक्तिको पहुँचमा हुनुले गाउँपालिकाको व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा भएको छ।










प्रतिक्रिया दिनुहोस्