अशोक कुमार शाही
सुर्खेत ।
नेपाल सरकार र स्वीस सरकारबीच भएको त्रिपक्षीय सम्झौताअन्तर्गत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित ‘दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना (SDSE)’ अन्तर्गत सुर्खेतमा एक महत्वपूर्ण अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
प्रतिभा मार्ग निर्देशन सेवा केन्द्र (CGSC) मा आयोजना गरिएको उक्त कार्यक्रममा ‘स्किल ल्याब’ सम्बन्धी विस्तृत जानकारी, वृत्ति मार्गनिर्देशन, र औद्योगिक प्रशिक्षार्थीता (Apprenticeship) सम्बन्धी छलफल गरिएको थियो। कार्यक्रममा प्याव्सन र एनप्यावसन को सहकार्यमा ‘विद्यालय नेतृत्व अभिमुखीकरणः विद्यालयमा वृत्ति मार्ग निर्देशन समावेशी अन्तर्क्रिया कार्यक्रम’ समेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा परामर्शदाता गंगा श्रेष्ठ र प्रशिक्षक सिर्जना चौलागाईंले ‘स्किल ल्याब’को अवधारणा, कार्यप्रणाली, र विद्यालयस्तरमा यसको प्रयोगबारे विस्तृत प्रस्तुति दिनुभयो। उहाँहरूले विद्यालयका शिक्षक र नेतृत्व टोलीलाई विद्यार्थीहरूलाई समयमै सही पेशा तथा रोजगारीको दिशा पहिचान गराउन मार्गदर्शन प्रदान गर्नुपर्नेमा जोड दिनुभयो।
कर्णाली प्रदेशमा श्रम बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने र विद्यार्थीहरूलाई रोजगारमुखी शिक्षासँग जोड्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको हो। यसले विद्यालयस्तरमै वृत्ति मार्गनिर्देशनको संस्कृतिलाई संस्थागत गर्दै औद्योगिक प्रशिक्षार्थी प्रणालीलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी शिक्षकहरूले यस्तो अभिमुखीकरणले विद्यार्थीहरूलाई व्यावसायिक जीवनमा सक्षम र प्रतिस्पर्धी बनाउन सहयोग पुर्याउने प्रतिक्रिया दिएका छन्।
यस्तै, हेल्भेटास नेपालले दलित, जनजाति, अपांग, मुस्लिम, मधेसी, दुर्गम क्षेत्र र विपन्न समुदायका विद्यार्थीहरूका लागि २४ महिने प्रविधिक प्रि-डिप्लोमा तहका कार्यक्रमहरू निशुल्क रूपमा सञ्चालन गर्दै आएको जनाएको छ।
हाल पञ्चकोशी बहुप्राविधिक शिक्षालय, योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान र महेन्द्र माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ सम्बन्धी पठनपाठनका लागि भर्ना प्रक्रिया सुरु भएको छ। यसका लागि विद्यार्थीहरूले एस.ई.ई. वा सो परीक्षा उत्तीर्ण अनुउत्तीर्ण भएका र शारीरिक रूपमा सक्षम हुनुपर्नेछ।
भर्ना हुने विद्यार्थीहरूलाई हाजिरीका आधारमा दैनिक १०० रुपैयाँ यातायात खर्च, वार्षिक ३,००० रुपैयाँ पोशाक खर्च, र प्रशिक्षण अवधिमा न्यूनतम ज्यालाको २५ प्रतिशत प्रोत्साहन रकम समेत प्रदान गरिनेछ। साथै, उनीहरूले दुर्घटना बीमा सुविधा पनि पाउनेछन्।
यस परियोजनाले कर्णाली प्रदेशका युवा तथा विद्यार्थीहरूलाई रोजगारीमुखी, आत्मनिर्भर र सीपयुक्त बनाउँदै ‘पढाईसँगै कमाई’ को व्यवहारिक संस्कृति स्थापना गर्ने लक्ष्य राखेको छ





















प्रतिक्रिया दिनुहोस्