२०८३ कात्तिक १६ , आइतबार
ताजा अपडेट:

बदलिएको कांग्रेस खोज्दै कालिकोटबाट वीरमानको उम्मेदवारी



कालिकाेट ।

नेपाली कांग्रेसभित्र समावेशी प्रतिनिधित्व र आन्तरिक रूपान्तरणको बहस चलिरहेका बेला कालिकोटका दलित तथा अपाङ्गता भएका नेता वीरमान विकले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
विकको उम्मेदवारी केवल एउटा पदका लागि गरिएको दाबी नभई पार्टीको नीति निर्माण तहमा वर्षौंदेखि पछाडि पारिएका समुदायको आवाज स्थापित गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। उहाँले कांग्रेसभित्र दलित, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको सहभागिता नारामा मात्र सीमित नभई निर्णय तहसम्म पुग्नुपर्ने बताउनुभएको छ।
उम्मेदवारी घोषणा गर्दै विकले पार्टी निर्माण र सुदृढीकरणमा आफूहरूजस्ता समुदायले लामो समयदेखि योगदान गर्दै आए पनि नेतृत्व र नीति निर्माणमा पर्याप्त अवसर नपाएको गुनासो गर्नुभयो।
“बदलिएको कांग्रेसको नारा भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। हामीजस्ता भुइँमान्छेको आवाज नीति निर्माण गर्ने ठाउँमा पुग्नुपर्छ,” विकले भन्नुभयो।
उहाँले आफू निर्वाचित भए दलित तथा सीमान्तकृत समुदायको अर्थपूर्ण प्रतिनिधित्व, अपाङ्गतामैत्री पार्टी संरचना र समान अवसरका विषयलाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता जनाउनुभएको छ।
लामो समयदेखि कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका विकले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई अवसर दिन पार्टीका प्रतिनिधि तथा मतदातासमक्ष आग्रह गर्नुभएको छ।
विकको उम्मेदवारीसँगै कालिकोट कांग्रेसमा समावेशी प्रतिनिधित्वको वास्तविक अवस्था र ‘बदलिएको कांग्रेस’को दाबी व्यवहारमा कति लागू हुन्छ भन्ने बहस थप पेचिलो बनेको छ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमबार