२०८३ भदौ २६ , शुक्रबार
ताजा अपडेट:

देशभर बाढीको जोखिम बढ्यो, प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान



काठमाडौं ।

सोमबार, २२ भदौ २०८३

आगामी तीन दिन देशभरका प्रमुख तथा साना नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार जारी गरेको बाढी पूर्वानुमान बुलेटिनमा विभिन्न नदी तथा जलाधार क्षेत्रमा जलसतह उल्लेख्य रूपमा बढ्न सक्ने जानकारी दिइएको हो।

सोमबार बिहानसम्म कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदी तथा तिनका सहायक नदीको बहाव सतर्कता तहभन्दा तल रहेको छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती तथा पश्चिम राप्तीको अवस्था पनि हाल सामान्य रहेको महाशाखाले जनाएको छ।

पूर्वानुमानअनुसार कोशी जलाधारअन्तर्गत सप्तकोशीको चतरा, तमोरको त्रिवेणी, अरुणको सिम्ले, दूधकोशीको रबुवाबजार, तामाकोशीको बुस्ती तथा सुनकोशीको हम्पचुवार क्षेत्रमा आगामी तीन दिन जलसतह उल्लेखनीय रूपमा बढ्न सक्छ।

त्यस्तै, नारायणी जलाधारका नारायणी–देवघाट, त्रिशूली–बेत्रावती, बूढीगण्डकी–आरुघाट, मर्स्याङ्दी–विमलनगर, सेती–दमौली र कालीगण्डकी–कुमालगाउँमा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको छ।

कर्णाली जलाधारका कर्णाली–चिसापानी तथा असाराघाट, भेरी–समजिघाट र पश्चिम सेती–दिपायलमा पनि तीन दिनसम्म जलसतह उल्लेखनीय रूपमा बढ्ने महाशाखाको पूर्वानुमान छ। महाकाली जलाधारको महाकाली–पारिगाउँ र कन्काई नदीको मैनाचुली क्षेत्रमा समेत बहाव बढ्ने बताइएको छ।

यसैगरी कमला–वेलसोत, बागमती–पधेरादोभान, पूर्वी राप्ती–रजैया, पश्चिम राप्ती–कुसुम तथा बबई–चेपाङ क्षेत्रमा भने आगामी तीन दिन नदीको बहाव सामान्य रूपमा बढ्ने अनुमान गरिएको छ।

महाशाखाका अनुसार सोमबार ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लाबाट बग्ने साना नदीमा समेत पानीको बहाव उल्लेखनीय रूपमा बढ्न सक्छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली क्षेत्रका धेरै जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ।

साना नदीमा बहाव अचानक बढ्न सक्ने भएकाले ती क्षेत्रमा मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। स्थानीय बासिन्दालाई नदी तथा खोलाको आसपासमा जाँदा सावधानी अपनाउन र सम्भावित बाढीको अवस्थाप्रति सचेत रहन आग्रह गरिएको छ।

भोलि र पर्सिसमेत सातै प्रदेशका केही साना नदीमा पानीको बहाव अचानक बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३ भदौ २२ गते सोमबार