२०८३ कात्तिक १४ , शुक्रबार
ताजा अपडेट:

पत्रकार शोभराज बरालको पक्राउप्रति जनपत्रकार संगठनको आपत्ति, तत्काल रिहाइको माग



 

अशाेक कुमार शाही

काठमाडौं ।

मोटिभेट न्यूज डटकमका प्रधानसम्पादक तथा जनपत्रकार संगठन, नेपालका सचिवालय सदस्य शोभराज बराल पक्राउ परेको घटनाप्रति संगठनले गम्भीर आपत्ति जनाएको छ। संगठनले पत्रकार बराललाई तत्काल रिहा गर्न सरकारसँग माग गरेको छ।

शुक्रबार जारी प्रेस विज्ञप्तिमार्फत संगठनले काठमाडौंको अनामनगरस्थित कार्यालयबाट सादा पोसाकमा आएका प्रहरीले बराललाई पक्राउ गरेको घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न खडा गरेको जनाएको छ।

संगठनका अनुसार बिना पक्राउ पुर्जी गरिएको उक्त गिरफ्तारी मानवअधिकार, प्रेस स्वतन्त्रता र पत्रकारिता क्षेत्रको संवैधानिक अधिकारमाथिको हस्तक्षेप हो। संविधान तथा प्रचलित कानुनले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको मर्मविपरीत पत्रकार पक्राउ गरिएको संगठनको आरोप छ।

समाचार सामग्रीसँग सम्बन्धित कुनै विवाद वा समस्या भए त्यसको नियमन तथा समाधानका लागि प्रेस काउन्सिलमार्फत प्रक्रिया अघि बढाउन सकिने व्यवस्था हुँदाहुँदै पत्रकारलाई पक्राउ गर्नु उचित नभएको संगठनले उल्लेख गरेको छ।

संगठनले पत्रकार बरालको तत्काल रिहाइका लागि पहल गर्न नेपाल पत्रकार महासंघ, मानवअधिकारकर्मी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र सम्बन्धित सरोकारवाला निकायसँग आग्रहसमेत गरेको छ।

जनपत्रकार संगठन, नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा पत्रकारको पक्राउप्रति विरोध जनाउँदै उनको अविलम्ब रिहाइको माग गरिएको छ।

विज्ञप्ति यस्तो  छ।

प्रकाशित मिति : २०८३ कात्तिक १४ गते शुक्रबार