२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन



प्यूठान,
प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगर को सवारी दुर्घटनामा परी निधन भएको छ।

शनिबार (असार १३) स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गर्दा उनले आफैं चलाइरहेको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका–२, बांगेसल्ला क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गाडी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठान ले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्मा का अनुसार दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहेको छ।

स्वर्गीय रानामगर २०७९ सालको स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चा बाट स्वर्गद्वारी नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित भएका थिए। उहाँको असामयिक निधनप्रति स्थानीयवासी, शुभेच्छुक तथा राजनीतिक वृत्तमा गहिरो शोक व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८३ असार १४ गते आइतबार