२०८३ कात्तिक १६ , आइतबार
ताजा अपडेट:

दुर्घटनामा परेको स्कार्पियोबाट ३९८ किलो गाँजा बरामद, चालक फरार



काठमाडौं

कोशी राजमार्गमा दुर्घटनामा परेको एक स्कार्पियो गाडीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। प्रहरीले गाडीबाट ३९८ किलो गाँजा बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार आइतबार राति करिब १० बजे कोशी राजमार्गअन्तर्गत प्रहरी चौकी बरगाछीको चेकिङ टोलीले सवारीसाधन जाँच गरिरहेको थियो। सोही क्रममा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को १ च ७३९९ नम्बरको स्कार्पियो प्रहरीको चेकिङ देखेपछि अचानक यु–टर्न गरी भाग्न खोजेको थियो।

भाग्ने क्रममा स्कार्पियोले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्कार्पियो चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले स्कार्पियोको खानतलासी गर्दा गाडीभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १३ वटा पोकामा रहेको गाँजा फेला पारेको हो।

मोरङ प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बरामद गाँजाको कुल तौल ३९८ किलो रहेको छ।

प्रहरीले फरार रहेका स्कार्पियो चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्।

गाँजा कहाँबाट ल्याइएको थियो र यसको गन्तव्य कहाँ थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असोज ११ गते आइतबार