मङ्गलबार, २३ भदौ २०८३
काठमाडौँ ।
समाचार सारांश
- बाढीमा हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको पुष्टि। ५ हजार ३२६ जना अझै सम्पर्कविहीन। फेला परेका शवमध्ये १०२ जनाको मात्र सनाखत भएको छ।
- नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका २१ हजार ४०२ सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार। ६ हजार ८२७ घाइतेको उपचार, २४२ जना अस्पतालबाट डिस्चार्ज।
- रसुवा, नुवाकोट र धादिङका ३ हजार ५३३ विस्थापितलाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ।
- प्रभावित जिल्लाहरू र स्थानीय तहलाई सरकारले १५ करोड रुपैयाँभन्दा बढी नगद राहत उपलब्ध गराएको छ।
- प्रभावित क्षेत्रमा ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन र ४५७ सिलिन्डर ग्यास पठाइएको छ।
- विद्युत् सेवा धादिङमा ९९.८%, नुवाकोटमा ९६.७% र रसुवामा ७८% घरधुरीमा पुनः सञ्चालन भएको छ।
रसुवामा आएको विनाशकारी बाढीपछि जारी खोजी तथा उद्धार अभियानका क्रममा हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको पुष्टि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते दिउँसो १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै मृतकको संख्या १ हजार ३५७ पुगेको जनाएको हो।
प्राधिकरणका अनुसार बाढी तथा पहिरो प्रभावित विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अङ्ग फेला परेका छन्। चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अङ्ग फेला परेको विवरणमा उल्लेख छ।
फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्रै सनाखत भएको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।
विपद्मा परेर हालसम्म ५ हजार ३२६ जना सम्पर्कविहीन रहेको तथ्यांक सार्वजनिक गरिएको छ। तीमध्ये रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना बेपत्ता भएका छन्।
रसुवाबाट सम्पर्कविहीन हुनेमा १ हजार ३९३ जना रसुवाकै नागरिक, अन्य जिल्लाका १ हजार २८६ जना, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ तथा बैंक तथा वित्तीय संस्थाका २६ जना कर्मचारी रहेका छन्।
यस्तै, नुवाकोटबाट करिब १ हजार ९८१ नेपाली नागरिक र ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ।
जसमध्ये नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्।
उद्धार तथा राहत सामग्री ढुवानीका लागि नेपाली सेनाले १ हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरीले २०३ पटक हेलिकप्टर उडान गरिसकेका छन्।
विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ।
बाढीका कारण घाइते भएका ६ हजार ८२७ जनाको उपचार भइरहेको छ। उपचार गराउनेमध्ये नेपाली सेनामार्फत ३ हजार ४०४, सशस्त्र प्रहरीमार्फत ३ हजार ९६ र विभिन्न १० वटा अस्पतालमा ३२७ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ।
अस्पतालमा उपचाररत घाइतेमध्ये २४२ जना डिस्चार्ज भइसकेका छन्।
विस्थापित नागरिकको अस्थायी व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा गरी ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ।
ती सेन्टरमा रसुवाका ६६९, नुवाकोटका २ हजार ६५१ र धादिङका २१३ गरी कुल ३ हजार ५३३ जना विस्थापितलाई राखिएको छ।
सरकारले राहतस्वरूप रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ वटा स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्रीको आपूर्ति पनि बढाइएको छ। हालसम्म ५० हजार लिटर डिजेल, १८ हजार लिटर पेट्रोल, १८ हजार लिटर हवाई इन्धन तथा ४५७ सिलिन्डर ग्यास प्रभावित क्षेत्रमा पठाइएको प्राधिकरणले जनाएको छ।
विपद्बाट प्रभावित नागरिकको मानसिक स्वास्थ्यमा परेको असरलाई सम्बोधन गर्न स्वास्थ्य मन्त्रालयले १५० भन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा सञ्चालन गरिरहेको छ।
बाढी तथा पहिरोबाट प्रभावित जिल्लामा विद्युत् आपूर्ति पनि क्रमशः पुनःस्थापित भइरहेको छ।
प्राधिकरणका अनुसार धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ।
विपद्पछि ठूलो जनधनको क्षति भएको प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहत, पुनःस्थापना र अत्यावश्यक सेवा पुनः सञ्चालनलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्