२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

कर्णालीको बजेट गरिबमुखी भएन, मूल्यांकन गर्न सरकारलाई माग : सांसद रणसिंह परियार



 

समाचार सारांश
Generated Using AI
  • ३२ अर्बको बजेट गरिबमुखी नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।
  • रोजगारी सिर्जना, पिछडिएको समुदायको उत्थान, उद्योग-कलकारखाना स्थापना, र जनमुखी कार्यक्रमको अभावले बजेटको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ। उनले भने, "के यसरी समृद्धि सम्भव छ? यसरी कलकारखाना बन्छन्?

अशोक

सुर्खेत साउन २०

कर्णाली प्रदेशका पूर्व ऊर्जा मन्त्री तथा हुम्लाका प्रदेशसभा सदस्य रणसिंह परियारले प्रदेश सरकारले ल्याएको ३२ अर्बको बजेट गरिबमुखी नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उनले सो बजेटले गरीब, पछाडि पारिएका वर्ग र समुदायको हित नदेखिएको भन्दै पुनर्मूल्यांकन गर्न माग गरेका हुन्।

प्रदेश सभाको बैठकमा बोल्दै सांसद परियारले बजेट जनताको भावनाविपरीत रहेको उल्लेख गरे। उनले भने, “यो बजेट गरीबका लागि होइन। जनतासँग माफी मागिएला, तर यहाँका शासकहरूसँग होइन। कर्णालीको ३२ अर्ब बजेट मन्दिरमा जान्छ, जनताका प्राथमिकतामा होइन।”

उनका अनुसार रोजगारी सिर्जना, पिछडिएको समुदायको उत्थान, उद्योग-कलकारखाना स्थापना, र जनमुखी कार्यक्रमको अभावले बजेटको औचित्यमाथि गम्भीर प्रश्न उठेको छ। उनले भने, “के यसरी समृद्धि सम्भव छ? यसरी कलकारखाना बन्छन्? रोजगारी आउँछ?”

परियारले हवाई उडानमा सहुलियतका लागि जम्मा ४० लाख रुपैयाँ मात्र छुट्याइएको तर मन्दिरमा मूर्ति स्थापना गर्न १२ करोड रुपैयाँ बजेट राखिएको उल्लेख गर्दै त्यसलाई अन्यायपूर्ण भने। उनले सोचेअनुसार बजेट वितरण नभएको भन्दै सरकारलाई प्रश्न गरे, “यस बजेटले कर्णालीको हितमा काम गर्छ त? यसको मूल्यांकन किन नगर्ने?”

सभामुखलाई सम्बोधन गर्दै परियारले जनप्रतिनिधिहरूले जनमुखी काम गर्नुपर्ने आवश्यकता औंल्याए। “जनताले विश्वास गरेर पठाएको ठाउँमा पुगेर जनमुखी काम नगर्ने हो भने कसरी विश्वास जितिन्छ?” उनले प्रश्न गरे।

अन्त्यमा, उनले बजेटको वितरण प्रणाली तथा प्राथमिकता पुनरावलोकन गरी गरिब र जनतामुखी बनाउन आग्रह गर्दै सरकारसँग गम्भीर समीक्षा र सुधारको माग गरे।

प्रकाशित मिति : २०८२ असार २० गते शुक्रबार