२०८३ असार २० , शनिबार
ताजा अपडेट:

सुत्केरी र नवजात शिशुको मृत्युपछि सिभिल अस्पताल विवादमा, छानबिनको माग गर्दै परिवार आन्दोलित



 

काठमाडौं
२०८२ साउन २६
काठमाडौंमाे सिभिल सर्भिस अस्पतालमा नवजात शिशु र सुत्केरिकाे मृत्यु भएकाे छ ।

दैलेखकी ३० वर्षीया लक्ष्मी नेपालीको काठमाडौंस्थित सिभिल सर्भिस अस्पतालमा सुत्केरी हुने क्रममा मृत्यु भएको छ। लक्ष्मीसँगै जन्मिएको उनको नवजात शिशुको पनि केही दिनपछि मृत्यु भएको छ। पीडित परिवारले भने यसलाई लापरबाही र चिकित्सकीय त्रुटिको नतिजा भन्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

घटनाक्रम र परिवारको आरोप

लक्ष्मी गर्भावस्थाको बेला नियमित जाँचका लागि सिभिल सर्भिस अस्पतालमा नै गइरहेकी थिइन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो। अस्पतालले सुरुमा प्रसूतिको मिति असार १७ गते तोके पनि, असार ९ गते नै उनलाई अस्पताल बोलाइएको थियो।

लक्ष्मीका श्रीमान दीपक नेपालीका अनुसार, लक्ष्मीलाई व्यथा नलागेको भए पनि अस्पतालमा भर्ना गरिएपछि औषधि दिएर जबर्जस्ती प्रसव गराइएको थियो।
दीपकले शल्यक्रिया (अपरेसन) गर्ने सुझाव दिए पनि डाक्टरहरूले सामान्य प्रसव (नर्मल डेलिभरी) नै सम्भव भएको भन्दै अपरेसन गर्न मानेनन्। त्यसपछि बच्चाको जन्म त भयो, तर लक्ष्मीको अवस्था अचानक बिग्रियो।

अस्पतालको मेडिकल रिपोर्टमा जनाइएअनुसार, बच्चा जन्मिएपछि लक्ष्मीलाई Post Partum Hemorrhage (PPH) अर्थात् अत्यधिक रक्तस्राव भएको थियो। रक्तस्राव नियन्त्रणमा नआएपछि असार १० गते गर्भाशय निकाल्ने शल्यक्रिया (Peripartum Hysterectomy) गरियो। तर, रक्तस्राव रोकिएन र दिउँसो ४:४५ बजे उनको मुटुको धड्कन कम भएपछि सीपीआर (CPR) दिइयो, तर बचाउन सकिएन।

दीपकका अनुसार, जन्मेपछि शिशुलाई पनि कृत्रिम सास दिनुपरेको थियो। केही दिनपछि शिशुको पनि मृत्यु भएको घोषणा गरियो।
परिवारले लक्ष्मीको उपचारमा संलग्न चिकित्सकहरूमाथि कारबाहीको माग गर्दा अस्पतालले अनुसन्धान गर्न नमानेको आरोप छ। बरु, प्रहरी र स्थानीय प्रशासनको माध्यमबाट शव बुझ्नका लागि दबाब दिइएको पीडित परिवारको भनाइ छ।

पिडित परिवारका मागहरू

यो घटनालाई लिएर केही गम्भीर प्रश्नहरू उठेका छन्:
किन प्रसूतिको मिति अचानक परिवर्तन गरियो?
समयमै शल्यक्रिया किन गरिएन?
नवजात शिशुको मृत्युबारे किन पारदर्शी जानकारी दिइएन?
पीडित परिवारलाई शव बुझ्नका लागि प्रहरी र प्रशासनले किन दबाब दियो?

अस्पताल प्रशासनले भने यी प्रश्नहरूको जवाफ दिन अस्वीकार गरेको छ। पीडित परिवारले सम्पूर्ण संलग्न चिकित्सकहरूको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै आएका छन्।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार