२०८३ वैशाख २४ , बिहीबार
ताजा अपडेट:

सरकारी रवैयाले चुनाव संकटमा, ओलीले दिए आन्दोलनको संकेत



 

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनाव हुने–नहुने विषय अझै अनिश्चित रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले आफूहरूमाथि अपमानजनक व्यवहार गरेकाले आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने संकेत गरेका हुन्।

अध्यक्ष ओलीले हालको सरकारले एमाले नेतृत्वलाई लक्षित गरेर दुःख दिने नियत राखेको आरोप लगाए। झापाबाट फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूलाई सुन तस्कर जस्तै व्यवहार गर्दै अनावश्यक चेकजाँच गरिएको भन्दै उनले आक्रोश व्यक्त गरे।

“झापाबाट फर्कंदा एयरपोर्टमा सुन तस्कर हो कि जस्तो गरी चेकिङ गरेर हैरान पारियो। विदेश जाँदा पनि चिनेका ठाउँमा त्यस्तो हुँदैन। तर हिजो एयरपोर्टमा त्यसरी हेपियो,” ओलीले भने, “किन यस्तो गरियो भनेर सोध्दा माथिबाट आदेश आएको छ भन्ने जवाफ पाइयो।”

उनले वर्तमान सरकार अराजनीतिक र असभ्य भएको टिप्पणी गर्दै नेताहरूको अपमान गर्ने मानसिकता हाबी भएको आरोप लगाए। “यो सरकार हामीलाई दुःख दिने कामतिर लागिरहेको छ। नेताहरूको अपमान गर्नु नै यसको मति बनेको छ,” ओलीले भने, “ममाथि देखिएको व्यवहारले सभ्य संसारमा हामी छैनौं कि जस्तो लागेको छ।”

अध्यक्ष ओलीले यस्तो अवस्थाले चुनावमा जाने कि आन्दोलनमा उत्रिने भन्ने विषय अझै टुंगोमा नलागेको स्पष्ट पारेका छन । सरकारको रवैयामा सुधार नभए आन्दोलनको बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने संकेतसमेत ओलिले गरेका छन ।

 

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार