देपेन्द्र बहादुर शाही
सुर्खेत, पुष १९ —
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कुन) को सुर्खेतस्थित सदस्य सेवा केन्द्रमा गम्भीर प्रकृतिको दुर्व्यवहार भएको आरोप सार्वजनिक भएको छ। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा नेफ्स्कुनका सञ्चालक बीरबहादुर रावत (भोटे) ले कार्यालयमै नेफ्स्कुनका कर्मचारी पुष्पराज तिमिल्सैनामाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि घटना बाहिर आएको हो।
सार्वजनिक भिडियोमा रावत (भोटे) सहकारी कार्यालयमा अनैतिक शैलीमा प्रवेश गरेको देखिन्छ। कर्मचारीले उनलाई कार्यालयबाट बाहिर जान आग्रह गरेपछि रावतले धम्कीपूर्ण भाषा प्रयोग गर्दै कार्यालयको ढोका भित्रबाट चुकुल लगाई काउन्टरतर्फ प्रवेश गरेको भिडियोमा देखिन्छ। त्यसपछि मोबाइल फोन निकालेर फोन गरेको जस्तो देखिए पनि सोही क्रममा सोफामा बसेका कर्मचारी तिमिल्सैनाको कठालो समातेर हातपात गरेको दृश्य भिडियोमा स्पष्ट देखिएको छ।
खर्चको विषयमा चन्द्रा मागिएको विषयलाई लिएर विवाद चर्किँदा उक्त घटना भएको बताइएको छ। सहकारीजस्तो मर्यादित, संस्थागत अनुशासन र आचारसंहितामा आधारित कार्यस्थलमा नेतृत्व तहकै व्यक्तिबाट यस्तो व्यवहार हुनु गम्भीर र निन्दनीय भएको कर्मचारी तथा सहकारीकर्मीहरूको प्रतिक्रिया छ।
घटनापछि नेफ्स्कुन सदस्य सेवा केन्द्रको वातावरण तनावग्रस्त बनेको बताइएको छ। कर्मचारी सुरक्षाको विषयलाई लिएर सहकारी क्षेत्रभित्र व्यापक चिन्ता व्यक्त गरिएको छ भने घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने माग उठ्न थालेको छ।
५२ वर्षीय रावत (भोटे) रेडियो बुलबुलेका अध्यक्षसमेत हुन्। सहकारी क्षेत्रका जानकारहरूका अनुसार सहकारी संस्थामा नेतृत्व तहको व्यवहारले संस्थाको विश्वसनीयता र जनविश्वास निर्धारण गर्ने भएकाले यस्ता घटनाले सहकारी आन्दोलनका मूल्य, मान्यता र आचारसंहितामाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
घटनाका विषयमा नेफ्स्कुनको केन्द्रीय कार्यालय तथा सम्बन्धित पक्षको औपचारिक प्रतिक्रिया आउन बाँकी छ। सहकारी कार्यालयमै भएको भनिएको यस घटनाले सहकारी क्षेत्रमा सुशासन, जवाफदेहिता र कर्मचारी अधिकारको विषयलाई पुनः बहसको केन्द्रमा ल्याएको छ।










प्रतिक्रिया दिनुहोस्