२०८३ कात्तिक १८ , मंगलबार
ताजा अपडेट:

देउडा गायिकाको अश्लील भिडियो सार्वजनिक गर्ने व्यक्ति पक्राउ, शेयर र कमेन्ट गर्नेमाथि पनि प्रहरीको निगरानी!



दिपेन्द्र बहादुर शाही

काठमाडौं ।

कर्णालीकी चर्चित देउडा गायिकाको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा अश्लील भिडियो सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा करिब ३५ वर्षीय खगेन्द्र न्यौपाने रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार उनलाई काठमाडौंमा पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि कालिकोट लगिएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सार्वजनिक गरिएको भनिएको भिडियो करिब अढाई वर्ष पुरानो हो। उक्त समयमा गायिका १७ वर्षकी नाबालिग रहेको खुलेको छ।

पीडित गायिकाले आफू नाबालिग अवस्थामा रहँदा विश्वासको दुरुपयोग गरी भिडियो कलमार्फत फकाएर अश्लील भिडियो बनाइएको दाबी गरेकी छन्। पछिल्लो समय उक्त सामग्री सामाजिक सञ्जालमा फैलाइएपछि आफू मानसिक रूपमा निकै पीडित भएको उनको भनाइ छ।

उनले आफ्नो कलाकारिता र भविष्य समाप्त पार्ने उद्देश्यले यस्तो गतिविधि गरिएको आरोप लगाउँदै अब यस्ता षड्यन्त्रविरुद्ध सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रहरीले भिडियो बनाउने वा सार्वजनिक गर्ने व्यक्तिमाथि मात्र नभई त्यसलाई फैलाउने, शेयर गर्ने, कमेन्ट गर्ने, स्क्रिनसट तथा तस्बिर पोस्ट गर्ने र इनबक्समार्फत भिडियो माग्ने व्यक्तिहरूमाथि समेत निगरानी बढाएको छ।

विदेशमा बसेर सामाजिक सञ्जालमार्फत दुष्प्रचार गर्ने केही व्यक्तिको पहिचानसमेत भइरहेको प्रहरीले जनाएको छ।

विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अश्लील तथा सार्वजनिक नैतिकताविरुद्धका सामग्री विद्युतीय माध्यमबाट प्रकाशन वा प्रदर्शन गर्ने कार्यमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।

प्रहरीले पीडितको गोपनीयता र सम्मानको रक्षा गर्न सबैलाई आग्रह गर्दै यस्ता संवेदनशील सामग्री शेयर, डाउनलोड, कमेन्ट वा पुनःप्रसार नगर्न चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८३ कात्तिक १८ गते मंगलबार