काठमाडौं
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इरानले होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला राख्ने निर्णयको स्वागत गरेका छन्। इजरायल र लेबनानबीच कायम गरिएको युद्धविराम अवधिभर इरानले यस्तो निर्णय गरेको जानकारी महासचिवका प्रवक्ताले दिएका छन्।
महासचिवका प्रवक्ता स्टेफन दुजारिकले शुक्रबार जारी गरेको विज्ञप्तिमा गुटेरेसले यस कदमलाई सही दिशातर्फको सकारात्मक पहलका रूपमा लिएको उल्लेख गरेका छन्। उनले राष्ट्रसंघको अडान स्पष्ट रहेको भन्दै होर्मुज जलडमरूमध्यमा अन्तर्राष्ट्रिय जल यातायातको अधिकार र स्वतन्त्रताको सबै पक्षले पूर्ण सम्मान गर्नुपर्नेमा जोड दिएका छन्।
महासचिव गुटेरेसले वर्तमान द्वन्द्व समाधानका लागि भइरहेका कूटनीतिक प्रयासप्रति पूर्ण समर्थन व्यक्त गरेका छन्। उनले यो कदमले युद्धविरामलाई बलियो बनाउनुका साथै पक्षहरूबीच विश्वासको वातावरण सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका छन्। साथै, पाकिस्तानको सहजीकरणमा भइरहेको संवाद प्रक्रियालाई पनि यसले थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार इजरायल र लेबनान १० दिने युद्धविराममा सहमत भएको घोषणा गरेका थिए। त्यसको भोलिपल्ट इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले सामाजिक सञ्जाल ‘एक्स’मार्फत युद्धविराम अवधिभर होर्मुज जलडमरूमध्य व्यावसायिक जहाजहरूका लागि पूर्ण रूपमा खुला रहने बताएका हुन्।










प्रतिक्रिया दिनुहोस्