२०८३ भदौ १८ , बिहीबार
ताजा अपडेट:

नेपालको विपत्तिमा नोएडाका नेपालीको ऐक्यबद्धता, मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली



२०८३ भदौ १५ गते

भारत

नोएडा । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढी तथा नेपालका विभिन्न क्षेत्रमा भएका प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतको नोएडामा नेपाली समुदायले दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा आयोजना गरेको छ।

नोएडा सेक्टर–३४ स्थित कम्युनिटी सेन्टरमा आयोजित कार्यक्रममा नोएडा तथा आसपासका क्षेत्रमा बसोबास गर्ने ठूलो संख्यामा नेपाली समुदायको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनीहरूले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गरे।

विपत्तिका कारण नेपालमा ठूलो दुःख र पीडा सिर्जना भएको भन्दै सहभागीहरूले विदेशमा रहेका नेपालीहरू पनि मातृभूमिको दुःखमा सँगै रहेको बताएका थिए। उनीहरूले विपत्तिको यस घडीमा सबै नेपाली एकजुट भई प्रभावित तथा पीडितहरूको उद्धार, राहत र सहयोगमा अघि बढ्नुपर्नेमा जोड दिए।

श्रद्धाञ्जली कार्यक्रमका मुख्य आयोजकहरूमा दीपक जीसी, किशन थापा, कमल थापा, सुरज कुमार, विष्णु शर्मा, धर्मराज र नारायण बीकेलगायत नेपाली समुदायका अगुवाहरू रहेका थिए।

कार्यक्रममा भाजपा गौतमबुद्ध नगरका पूर्व जिल्ला मन्त्री एसपी छामौलीले श्रद्धाञ्जली मन्तव्य राख्दै नेपालमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभयो। उहाँले विपत्तिमा परेका नेपाली तथा पीडित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, आरडब्ल्यूए सेक्टर–३४ का महासचिव धर्मेन्द्र शर्माले पनि कार्यक्रममा मन्तव्य राख्दै प्राकृतिक विपत्तिमा ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले नेपाली समुदायले आयोजना गरेको मानवीय तथा संवेदनशील कार्यक्रमको प्रशंसा गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गर्नुभयो।

दीप प्रज्वलनका क्रममा कार्यक्रमस्थलको वातावरण भावुक बनेको थियो। सहभागीहरूले केही समय मौनधारण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरे। साथै बेपत्ता नागरिकहरूको सकुशल उद्धार, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने प्रार्थना गरे।“देशबाट टाढा छौँ, तर देशको दुःखबाट टाढा छैनौँ।”

नोएडामा सम्पन्न श्रद्धाञ्जली सभाले विदेशमा रहे पनि मातृभूमिप्रतिको माया, पीडा र जिम्मेवारीबाट नेपाली समुदाय टाढा नरहेको सन्देश दिएको छ। नेपालमा विपत्ति पर्दा विदेशमा रहेका नेपालीहरू पनि भावनात्मक रूपमा सँगै उभिने गरेको यस कार्यक्रमले देखाएको छ।

प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार