भारत रोहतास ।
बिहारको रोहतास जिल्लामा १२ वर्षअघि मृत घोषित गरिएकी एक महिला झारखण्डमा जिउँदै भेटिएपछि पुरानो हत्या प्रकरणमा नयाँ मोड आएको छ।
सन् २०१४ मा घरबाट हराएकी शकुंतला देवी उर्फ कान्ति देवीको हत्या भएको भन्दै उनका श्रीमान् अरुण मेहता, ससुरा दिलीप मेहता र परिवारका अन्य सदस्यसहित आठ जनामाथि हत्या तथा दाइजोसम्बन्धी मुद्दा चलेको थियो। घटनापछि परिवारका केही सदस्य जेलसमेत पुगेका थिए।
प्रहरीका अनुसार सन् २०१४ अगस्टमा शकुंतला हराएपछि उनका परिवारका तर्फबाट प्रहरीमा उजुरी परेको थियो। त्यसको केही दिनपछि डेहरी मुफस्सिल थाना क्षेत्रअन्तर्गत खण्डा गाउँ नजिकैको नहरमा एक महिलाको शव फेला परेको थियो।
उक्त शवलाई शकुंतलाका भाइले आफ्नी बहिनीको शवका रूपमा पहिचान गरेको बताइएको छ। त्यसपछि उनको पति तथा ससुराल पक्षका आठ जनाविरुद्ध हत्या मुद्दा अघि बढाइएको थियो। शवको पोस्टमार्टमसमेत गरिएको थियो।
घटनापछि अरुण मेहता, उनका पिता दिलीप मेहता लगायतलाई प्रहरीले पक्राउ गरेको थियो। परिवारले। परिवारले वर्षौंसम्म कानुनी झमेलाको सामना गर्नुपरेको र मुद्दासम्बन्धी खर्च जुटाउन पुर्ख्यौली सम्पत्तिसमेत बेच्नुपरेको दाबी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
तर करिब १२ वर्षपछि घटनाले अचानक नयाँ मोड लियो। परिवारले शकुंतला झारखण्डको गढवा जिल्लास्थित कांडी थाना क्षेत्रको लभारी कला गाउँमा जीवितै रहेको सूचना पाएपछि रोहतास प्रहरीलाई जानकारी गराएको थियो।
रोहतासका एसपी राजको निर्देशनपछि डेहरी मुफस्सिल प्रहरीको टोली झारखण्ड पुगेको थियो। प्रहरीले त्यहाँ कान्ति देवी नाममा बसिरहेकी महिलालाई फेला पारी रोहतास ल्याएको बताइएको छ। प्रहरीका अनुसार उनी त्यहाँ रट्टु सिंह नामका एक पुरुषसँग बस्दै आएकी थिइन्।
महिलालाई सासारामस्थित अदालतमा उपस्थित गराइएको छ। प्रहरी पक्षले उनलाई अनुसन्धानलाई गुमराहमा राखेको तथा ठगी र आपराधिक षड्यन्त्रसँग सम्बन्धित आरोपमा अनुसन्धान अघि बढाइएको जनाएको छ।
अब मुख्य प्रश्न–नहरमा भेटिएको शव कसको थियो?
१२ वर्षपछि कथित रूपमा मृत घोषित महिला जीवितै भेटिएपछि सन् २०१४ मा नहरबाट बरामद गरिएको शव कसको थियो भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण बनेको छ।
यदि अहिले भेटिएकी महिला नै शकुंतला देवी भएको पुष्टि हुन्छ भने त्यतिबेला शवको पहिचान कसरी भयो? शवलाई शकुंतलाकै भनेर पुष्टि गर्ने आधार के थियो? र त्यसैका आधारमा उनका श्रीमान् तथा परिवारका सदस्यविरुद्ध हत्या मुद्दा कसरी अघि बढ्यो? भन्ने प्रश्न उठेको छ।
घटनाले पुरानो अनुसन्धान, शव पहिचान प्रक्रिया र त्यसबेला गरिएको प्रहरी कारबाहीमाथि समेत प्रश्न खडा गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी अधिकारीहरूले घटनाको नयाँ कोणबाट अनुसन्धान अघि बढाइरहेका छन्।
अब अनुसन्धानले १२ वर्षअघि बरामद भएको शवको वास्तविक पहिचानदेखि शकुंतला देवी यति लामो समयसम्म कहाँ र कसरी बसिरहेकी थिइन् भन्ने विषयसमेत स्पष्ट पार्नुपर्ने देखिएको छ।










प्रतिक्रिया दिनुहोस्