प्रतिमा शाही
इलाम असार २
इलाम नगरपालिका–११, आलेमा मंगलबार साँझ भएको पिकअप गाडी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
बिर्तामोडबाट मंगलबारेतर्फ खाद्य सामग्री लिएर जाँदै गरेको प्र.१–०१–००१ च ९७७८ नम्बरको पिकअप गाडी साँझ ७ बजेर ५ मिनेट जाँदा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा परी झापाको खुदुनाबारी निवासी तथा हाल देउमाई नगरपालिका–०९ नवमी बजारमा व्यवसाय गरिरहेका ३८ वर्षीय विष्णु पराजुलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। नाक र अनुहारमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा निधन भएको हो।
दुर्घटनामा पराजुलीकी करिब ८ वर्षीया छोरी प्रेयन्सा पराजुली पनि घाइते भएकी छन्। उनको दाहिने गालामा चोट लागेको छ र बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था सामान्य छ।
त्यसैगरी, गाडीका २२ वर्षीय चालक आइतबहादुर लिम्बु (देउमाई–०९, जितपुर) पनि घाइते भएका छन्। निधारमा चोट लागेका उनको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनापश्चात् उद्धारमा खटिएका चिसापानी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बुद्धीबहादुर कटुवाललाई भने अरिङ्गालले टोकेको छ। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मान बहादुर राईका अनुसार दुर्घटनापछि पिकअप गाडी घटनास्थलमै छ र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।










प्रतिक्रिया दिनुहोस्