२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

कालिकोट जिल्ला बाट प्रतिनिधिसभा प्रत्यक्षमा प्रचण्ड को विरुद्ध सहिद परिवार मान बहादुर तिरुवाको उम्मेदवारी घोषणा।



कालिकोट

कालिकोटमा वैकल्पिक राजनीतिक संकेत : सहिद परिवारका मान बहादुर तिरुवाको उम्मेदवारी
नेपालको समसामयिक राजनीतिमा बढ्दो निराशा, नेतृत्वप्रतिको असन्तुष्टि र वैकल्पिक शक्तिको खोजीबीच कालिकोट जिल्लाबाट एउटा महत्वपूर्ण राजनीतिक संकेत देखापरेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विरुद्ध सहिद परिवारका सदस्य मान बहादुर तिरुवाले उम्मेदवारी घोषणा गर्नु सामान्य राजनीतिक घटना मात्र होइन, यसले गहिरो सन्देश बोकेको छ ।

दशकौँ लामो राजनीतिक परिवर्तन, जनयुद्ध, गणतन्त्र स्थापना र संविधान निर्माणपछि पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नआउनु नै आजको असन्तोषको मुख्य कारण हो ।
परिवर्तनका अगुवा मानिएका नेताहरू सत्ताको वरिपरि घुमिरहँदा, सहिद परिवारहरू भने अझै न्याय, सम्मान र अवसरको खोजीमा छन् । यही यथार्थको प्रतिनिधित्व मान बहादुर तिरुवाको उम्मेदवारीले गर्छ ।

कालिकोटजस्तो पिछडिएको जिल्लामा विकास, शिक्षा, स्वास्थ्य र रोजगारी आज पनि चुनौतीकै रूपमा छन् । ठूला नेताहरूको निर्वाचन क्षेत्र बनेको जिल्ला भए पनि जनताको आधारभूत समस्या उस्तै रहनु जनप्रतिनिधित्वको गम्भीर प्रश्न हो । सहिद परिवारबाट आएको उम्मेदवारीले ‘संघर्ष कसका लागि थियो ?’ भन्ने प्रश्नलाई पुनः जीवित बनाएको छ ।

मान बहादुर तिरुवाको उम्मेदवारी कुनै व्यक्तिगत महत्वाकांक्षा मात्र नभई सहिद परिवारको आवाज, पीडाको अभिव्यक्ति र राजनीतिक नैतिकताको खोजीका रूपमा बुझ्न सकिन्छ ।
यसले शक्तिशाली नेताहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाउनेछ भने मतदातालाई विकल्पबारे गम्भीर सोच्न प्रेरित गर्नेछ ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार