५ भदौ, काठमाडौं
जेनजी अगुवा रवि किरण हमालले आगामी भदौ २३ गते लाखौँ नागरिकलाई सडकमा सहभागी हुन आह्वान गरेका छन्। उनका अनुसार उक्त दिनलाई पुनः आन्दोलन चर्काउने दिनका रूपमा नभई गत वर्षको जेनजी आन्दोलनको स्मरण, शहीदप्रति सम्मान, घाइतेहरूको समर्थन र राष्ट्रिय एकताका लागि समर्पित गरिनुपर्नेछ।
राष्ट्रिय नागरिक जेनजी अभियानले आयोजना गरेको पत्रकार सम्मेलनमा हमालले भदौ २३ गते शहीदहरूको आत्माको शान्ति, घाइतेहरूको आत्मबल, शहीद परिवारको भरोसा तथा नेपाली जनताको एकताका लागि नागरिकहरू एकजुट हुनुपर्ने बताए।
उनले आन्दोलनका क्रममा उठाइएका सुशासन, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुधारका मुद्दा अझै सम्बोधन नभएको दाबी गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। आन्दोलनका क्रममा हिंसा, तोडफोड र आगजनी गर्ने शक्तिहरू नै अहिले सरकारको नेतृत्वमा पुगेको उनको आरोप थियो।
हमालले प्रधानमन्त्रीको व्यक्तिगत पहिचानसँग सम्बन्धित विषय तथा नेपाल–भारत सीमा र सन्धिसम्बन्धी पछिल्ला अभिव्यक्तिप्रति समेत प्रश्न उठाएका छन्। यस्ता विषय राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएकाले सार्वजनिक बहस र आवश्यक छानबिन हुनुपर्ने उनको भनाइ छ।
गत वर्षको जेनजी आन्दोलनमा भएको बलिदान र नागरिकका अपेक्षामाथि कुनै किसिमको घात स्वीकार्य नहुने चेतावनी दिँदै उनले आवश्यक परे पुनः संघर्षमा उत्रिन आफूहरू तयार रहेको बताए।
हमालले भदौ २३ लाई केवल विगत सम्झिने दिनमा सीमित नगरी शहीदको बलिदान, घाइतेहरूको पीडा र शहीद परिवारको अपेक्षालाई सम्मान गर्दै राष्ट्रिय एकता, सुशासन र जनताको आकांक्षाका पक्षमा नयाँ संकल्प गर्ने दिन बनाउन सबै नेपालीलाई अपिल गरेका छन्।









प्रतिक्रिया दिनुहोस्