बारा ।
बाराको जितपुरसिमरा क्षेत्रमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ।
प्रहरीका अनुसार साउन ३१ गते बिहान घरबाट हराएकी जितपुरसिमरा–१ दसधुरी निवासी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमाको शव मंगलबार साँझ स्थानीय वीरबहादुर रोकाको खाली घरमा फेला परेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर सुनसान स्थानमा लगिएको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरिएको आशंका गरिएको प्रहरीले जनाएको छ।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। अनुसन्धानका क्रममा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जितपुरसिमरा–२ निवासी करिब १६ वर्षीय सुमन थापा र म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार थापा उक्त म्याजिकका सहचालक हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बालिकाको हत्या घटनापछि स्थानीयवासी आक्रोशित भएका छन्। दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै बुधबार स्थानीयले पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण केही समय सडक आवागमनसमेत प्रभावित भएको थियो।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरी रहेकाे छ।









प्रतिक्रिया दिनुहोस्