२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

सर्वपक्षीय सरकारको माग राख्दै विप्लव नेतृत्वको नेकपाले गर्‍यो देश भर मसाल जुलुस



 

२०८२ साल कार्तिक १४ गते शनिबार
अशाेक शाही

काठमाडौँ
सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्खेतले देशमा देखिएको गम्भीर राजनीतिक अस्थिरताको अन्त्य र सर्वपक्षीय सरकार गठनको माग गर्दै आज सुर्खेतको वीरेन्द्र चाेक क्षेत्रमा मसाल जुलुस निकालिएको थियाे ।


विप्लव नेकपाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै र देशलाई सही निकास दिन सर्वपक्षीय सहमति आवश्यक रहेको भन्दै यो विरोध प्रदर्शन गरेको हो।

राजनीतिक अस्थिरता र अन्योलका बीच, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज देशभर मसाल जुलुस गरेको छ।

पार्टीले मुलुकमा देखिएको संकटको समाधानका लागि सर्वपक्षीय सरकारको गठन अपरिहार्य रहेको भन्दै कार्तिक १३ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको थियोे ।

नेपालको राजनीति लामो समयदेखि अस्थिरताको भूमरीमा फसेको छ। सरकारहरू परिवर्तन भइरहने, प्रमुख राजनीतिक दलहरूबीच राष्ट्रिय मुद्दामा सहमति जुट्न नसक्ने र सत्ताको खिचातानीले गर्दा विकास निर्माण र जनसरोकारका विषयहरू ओझेलमा परेका छन्।
गठबन्धन सरकारहरूको फेरबदल र दलहरूभित्रको आन्तरिक विवादले गर्दा नीतिगत स्थिरता कायम हुन नसक्दा राजनीतिक परिवर्तनले पनि जनजीवनमा सकारात्मक असर नपरेपछि आम नागरिकमा राजनीतिक दलप्रति गहिरो निराशा छाएको देख्न सकिन्छ ।

राजनीतिक अस्थिरताको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको छ। महंगी, बेरोजगारी र पुँजीगत खर्च हुन नसक्दा नागरिक थप मारमा परेका छन्।
विप्लव नेतृत्वको नेकपाले यही अवस्थालाई उजागर गर्दै वर्तमान संसदीय व्यवस्था असफल भएको र यसको विकल्प खोज्नुपर्नेमा जोड दिएको छ। उनीहरूले देशलाई निकास दिनका लागि सबै पक्षको प्रतिनिधित्व हुनेगरी राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै दबाब बढाएकाे देख्न सकिन्छ ।

विप्लव नेतृत्वको नेकपाले मसाल जुलुस मार्फत सर्वपक्षीय सरकार गठनको मागलाई जोडदार रूपमा उठाएको छ। पार्टीका नेता तथा कार्यकर्ताहरूले देशका प्रमुख सहरहरूमा मसाल बालेर प्रदर्शन गरेका छन्। उनीहरूले वर्तमान सरकारले जनहितमा काम गर्न नसकेको, भ्रष्टाचार बढेको र राष्ट्रिय स्वाधीनतामाथि चुनौती थपिएको आरोप लगाएका छन्।

पछिल्लो समय विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएर निर्वाचन आयोगमा दल दर्ताको प्रक्रियामा समेत संलग्न भए पनि उनीहरूले मूलधारका दलहरूको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दबाबमूलक कार्यक्रमहरू गरिरहेका छन्।

यो मसाल जुलुसले सरकार र प्रमुख राजनीतिक दलहरूलाई अस्थिरताको अन्त्य गरी राष्ट्रिय हितका लागि एकताबद्ध हुन दबाब सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार