१५ भदौ, काठमाडौं ।
रसुवामा आएको बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन तथा फसेका भनिएका व्यक्तिका आफन्त घटनास्थलतर्फ गएका छन्।
आयोजनामा रहेका आफ्ना आफन्तको अवस्थाबारे स्पष्ट जानकारी दिनुपर्ने माग गर्दै उनीहरूले काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) को कार्यालयमा धर्ना दिएका थिए। कम्पनीसँग सहमति भएपछि उनीहरूलाई दुई वटा हेलिकप्टरमार्फत घटनास्थलतर्फ पठाइएको हो।
घटनास्थल पुगेपछि आफन्तहरूले आफ्ना परिवारका सदस्यको अवस्था, भइरहेको खोज तथा उद्धार कार्य र बाढीका कारण आयोजनामा पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गर्नेछन्।
यसअघि पाँच दिनसम्म पनि आफ्ना आफन्तको अवस्थाबारे यकिन जानकारी नपाएको भन्दै परिवारजनले कम्पनीप्रति आक्रोश व्यक्त गरेका थिए। उनीहरूले जीवित भए तत्काल उद्धार गर्न र मृत्यु भएको भए शव उपलब्ध गराउन माग गर्दै घटनास्थलको वास्तविक अवस्था देखाउन आग्रह गरेका थिए।
कम्पनी र पीडित परिवारबीच भएको सहमतिअनुसार खोज तथा उद्धारका लागि हेलिकप्टर र उद्धार टोली परिचालन गरिनेछ। प्रभावित क्षेत्रमा जान आवश्यक यातायातको व्यवस्था कम्पनीले गर्ने तथा खोज तथा उद्धारका लागि घटनास्थल जाने आफन्तको खर्च पनि कम्पनीले बेहोर्ने सहमति भएको छ।
सहमतिको अर्को बुँदामा आयोजनामा कार्यरत सम्पूर्ण कर्मचारी तथा कामदारको अवस्थाबारे विवरण पीडित पक्षलाई उपलब्ध गराउने उल्लेख छ। घटनाको दिनको सीसीटीभी फुटेज उपलब्ध गराउने, तत्कालीन उद्धार कार्यका लागि तयार गरिने एक्सन प्लान परिवारलाई जानकारी गराउने तथा आवश्यक परे सरकारी निकायसँग समन्वय गर्ने विषयमा पनि सहमति भएको छ।
त्यस्तै घटनासँग सम्बन्धित विवरण सार्वजनिक गर्ने र सामाजिक सञ्जालमार्फत नियमित सूचना उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ।
बाढी आएदेखि नै कम्पनीले आयोजनास्थलमा रहेका कर्मचारी तथा कामदारको अवस्थाबारे पर्याप्त सूचना नदिएको आफन्तहरूको आरोप थियो। विशेषगरी आयोजनाको सुरुङ तथा मैलुङस्थित साइट कार्यालयमा रहेका व्यक्तिहरूको अवस्थाबारे स्पष्ट जानकारी नहुँदा परिवार थप चिन्तित बनेका थिए।
कम्पनीका अनुसार माथिल्लो त्रिशूली–१ आयोजनामा करिब ५ सय ७६ जना कामदार कार्यरत थिए भने मैलुङस्थित साइट कार्यालयमा ७५ जना रहेको जानकारी दिइएको थियो।
उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको भए पनि सरकारी अनुमति नपाउँदा उडान गर्न नसकिएको कम्पनीको दाबी थियो। कम्पनीका एक कोरियन प्रतिनिधिले पाँच वटा हेलिकप्टर तयारी अवस्थामा रहेको बताएका थिए।
तर, परिवारसँग सहमति भएपछि आफन्तलाई नै घटनास्थलमा पुर्याएर वास्तविक अवस्था देखाउने व्यवस्था गरिएको हो। घटनास्थल पुगेपछि उनीहरूले उद्धार टोली, कम्पनीका प्रतिनिधि तथा आयोजनामा रहेका व्यक्तिको अवस्थाबारे प्रत्यक्ष जानकारी लिनेछन्।
बाढीका कारण आयोजनाको सुरुङ र मैलुङ क्षेत्र प्रभावित भएको छ। नुवाकोटमा निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना २ सय १६ मेगावाट क्षमताको आयोजना हो। उद्धारमा ढिलाइ भएको भन्दै फसेका भनिएका व्यक्तिका परिवारजनले यसअघि कम्पनीसँग तत्काल खोज तथा उद्धार तीव्र बनाउन माग गर्दै आएका थिए।









प्रतिक्रिया दिनुहोस्