२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

मुख्यमन्त्री कँडेलले सहिदको अपमान गरे ,सहिद पार्कमा पुगेर, सहिद पार्कमा उभिएकाे  मान्छेले जिउँदो मान्छेलाई दुख दिने



सुर्खेत

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बेइमानी गरेको आरोप लगाएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा बोल्दै प्रतिपक्ष दलका नेता राजकुमार शर्माले तत्कालीन अवस्थामा माओवादीसँग गरिएको सम्झौता कार्यान्वयन नगरी बेइमानी गरेको बताए ।

‘मुख्यमन्त्रीसँग हस्ताक्षर गरेको कागज मेरो खल्तीमै छ,’ उनले भने, ‘के रोजगारी दिने कुरा गलत हो ? बेठिक थियो ? समयमै गर्न नसक्ने कुरा मैले पनि अनुभूति गरे तर गर्नु त पर्थ्यो नि । के कर्णालीमा रोजगारीको आवश्यकता छैन ?’

१० हजारलाई रोजगारी दिने कुरा आफ्नो मनोगत कुरा नभई समग्र कर्णालीको आवश्यकता भएको शर्माले बताए । उनले अगाडि भने, ‘मैले मेरा कार्यकर्ता भर्ती गर्न गरेको भन्ने आरोप पनि लाग्यो,  एमालेले नै भर्ती गरेको भए पनि हुन्थ्यो नि अहिले । प्रतिपक्ष दलको हिसाबले मेरो केही पनि थिएन ।’

रोजगार दिने कुरामा भाग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । अविच्छिन्न उत्तराधिकारी संस्था हुनुका नाताले संसद्ले पारित गरेको कुरामा मुख्यमन्त्रीले उदासीनता देखाएको शर्माले बताए । ‘गर्छु भनेर सम्झौता पनि गर्नुभयो तर बेइमानी गर्नुभयो,’ उनले भने ।

मुख्यमन्त्री कँडेल मनपर्दो तरिकाले हिँडिरहेको शर्माको आरोप छ । सरकार मनपरी गर्ने थलो नभएको र विधि, नीति नियम अनुसार चल्नुपर्ने उनको भनाइ थियो ।

भूकम्प प्रभावित क्षेत्रमा पनि काम गर्ने प्रतिबद्धता भुलेको उनको आरोप छ ।

रुकुम पश्चिमको भ्रमणका क्रममा मुख्यमन्त्री कँडेलले सहिदको अपमान गरेको आरोप पनि शर्माले लगाए । उनले भने, ‘रुकुमको सहिद पार्कमा पुगेर, सहिद पार्कमा उभिएर मान्छेले जिउँदो मान्छेलाई दुख दिने भए भन्नु भएछ, के तपाईँ आकाशबाट खसेर आएको हो ? धर्तीबाट उम्रिएर आएको हो ?’

इतिहासको अवमूल्यन नगर्न उनले चेतावनी दिए ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार