२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

लिपुलेक, लिम्पियाधुराको पक्षमा बाबू राेका मगर द्वारा इन्डिया गेटमा विरोध प्रदर्शन!



 

अशाेक शाही
दिल्ली, भारत –

नेपाल र भारतबीचको विवादास्पद सीमा क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानी को विषयलाई लिएर एक नेपाली युवाले भारतको राजधानी दिल्लीस्थित इन्डिया गेट मा प्लेकार्ड प्रदर्शन गरेका छन्।

युवा बाबू रोका मगर ले भारतले नेपाली भूमि अतिक्रमण गरेको भन्दै इन्डिया गेटजस्तो महत्वपूर्ण ठाउँमा प्लेकार्डसहित विरोध जनाएका हुन्।

उनले प्रदर्शनका क्रममा “लिपुलेक लिम्पियाधुरा नेपालकै हो” भन्ने लगायतका नाराहरू उल्लेख गरिएको प्लेकार्ड बोकेर भारत सरकारको ध्यानाकर्षण गराउने प्रयास गरेका छन्।
यस प्रदर्शनले नेपालको भूभाग भारतद्वारा अतिक्रमित भएको भन्दै भइरहेको विरोधलाई भारतभित्रै पुर्‍याएको छ।

नेपालले यी भूभागहरूलाई समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सीमा विवाद सतहमा आएको छ। भारतको मुटु मानिने इन्डिया गेटमा भएको यो विरोध प्रदर्शनलाई सीमा विवादको समाधानका लागि दबाब सिर्जना गर्ने एक साहसी कदमका रूपमा हेर्न सकिन्छ ।

नेपालको सुदूरपश्चिममा अवस्थित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई लिएर नेपाल र भारतबीच लामो समयदेखि जारी सीमा विवाद हाल पनि दुई देशको सम्बन्धमा एक महत्त्वपूर्ण र संवेदनशील मुद्दा बनेको छ।

सुगौली सन्धि (सन् १८१६): यस सन्धिअनुसार महाकाली (काली) नदीलाई नेपालको पश्चिमी सीमा नदीका रूपमा परिभाषित गरिएको छ।
काली नदीको उद्गमस्थल: नेपालले लिम्पियाधुरा (जहाँबाट काली नदीको मुख्य धार निस्कन्छ) तेसलाई महाकालीको उद्गम मान्दै सोभन्दा पूर्वका सम्पूर्ण भूभाग नेपालकोै भएको भन्दै नेपालले दाबी गर्दै आएकाे छ।
यता, भारतले भने कालापानी नजिकको सानो खोलालाई काली नदीको मुहान मानेर कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमाथि आफ्नो दाबी प्रस्तुत गर्दै आएको छ।

भारतीय अतिक्रमण: सन् १९६२ को भारत-चीन युद्धपछि भारतले कालापानी क्षेत्रमा सेना राख्दै आएको छ। पछिल्लो समय भारतले लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने सडक निर्माण र उद्घाटन गरेपछि विवाद थप चर्किएको थियो।
नेपालको नयाँ नक्सा: सन् २०२० मा नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समावेश गर्दै आफ्नो आधिकारिक राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्‍यो। नेपालले करिब ३७० वर्ग किलोमिटर भन्दा बढी भूभाग आफ्नो भएको दाबी गरेको छ।
तर भारतले भने नेपालको नयाँ नक्सालाई भारतले ‘एकपक्षीय र कृत्रिम’ भन्दै अस्वीकार गरेको छ।

दुवै पक्षले ऐतिहासिक प्रमाण र नक्साहरू प्रस्तुत गर्दै आए पनि सीमा समस्या समाधानका लागि उच्चस्तरीय कूटनीतिक वार्ता भने हुन सकेको छैन। नेपालले वार्ताका लागि पटक-पटक आग्रह गरे पनि भारतले सकारात्मक पहल नगरेको गुनासो नेपाली पक्षको छ।

लिपुलेक भञ्ज्याङ भारत, नेपाल र चीनको त्रिदेशीय बिन्दुको नजिकै पर्ने भएकाले यस क्षेत्रको भू-रणनीतिक महत्त्व उच्च छ। यो कैलाश मानसरोवर जाने तीर्थयात्रीहरूका लागि सबैभन्दा छोटो बाटो पनि हो। भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति हुँदा नेपालले विरोध जनाउँदै दुवै छिमेकीलाई ‘प्रोटेस्ट नोट’ पठाएको थियो।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवाद दुई देशबीचको विश्वास र सम्बन्धमाथि सिधै प्रभाव पार्ने संवेदनशील विषय बनेको छ, जसलाई सुगौली सन्धिको ऐतिहासिक आधार र कूटनीतिक वार्तामार्फत मात्र टुङ्ग्याउन सकिन्छ।

स्रोत बाबू राेका मगर

प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार