२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

छोरेपाटन मावि अध्यक्षलाई पातले छाँगो ठेक्का प्रकरणमा नेकपा बहुमत निकट विद्यार्थी संगठन द्वारा कालोमोसो



 

पाेखरा

२०८२ असार २७ गते

पोखराको छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीलाई नेकपा बहुमतले कालोमोसो दलेको छ।
विद्यालयको मुख्य आम्दानीको स्रोत पातले छाँगो (डेभिज फल) लाई लामो समयसम्म निजी कम्पनीलाई भाडामा दिने कार्यमा भूमिका खेलेको आरोप लगाउँदै नेकपा बहुमतले शुक्रबार उनीमाथि यो घटना गराएको हो।

उक्त घटनाको जिम्मेवारी लिँदै सङ्गठनका संयोजक राजन साउदले विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा पहारीले व्यक्तिगत स्वार्थका लागि विभिन्न व्यक्तिहरूसँग मिलेर करिब २२ सय विद्यार्थी अध्ययनरत विद्यालयलाई वार्षिक करोडौं रुपैयाँ क्षति पुर्‍याएको दाबी गरिएको छ।

पातले छाँगो २०३५ सालदेखि विद्यालयले उपभोग गर्दै आएको थियो। तर, पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत ३५ वर्षका लागि एक निजी कम्पनीलाई सञ्चालन गर्न दिने गरी सहमति गरेको छ।

सहमति अनुसार महानगरपालिकाले विद्यालयलाई वार्षिक ३ करोड रुपैयाँ दिनुपर्ने भए पनि दुई किस्ताको भुक्तानी रोकिएको अवस्थामा व्यवस्थापन समिति मौन बसेको कुरा विज्ञप्तिमा उल्लेख छ।
नेकपा बहुमतले सम्झौतामा हस्ताक्षर गर्ने विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मालाई तुरुन्त राजीनामा दिन चेतावनी दिएको छ।

साथै, उनीहरूले ठेक्का सम्झौता तत्काल खारेज गरी पातले छाँगो पुनः विद्यालयलाई हस्तान्तरण गर्न र ठेकेदार कम्पनी सेती क्यान्योन प्रालिलाई काम रोक्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२ असार २७ गते शुक्रबार