२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

श्रीमतीले दोस्रो विवाह गरेपछि विदेशबाट फर्किएका श्रीमानले गरे हत्या



 

प्युठान, ३१ असार ।

प्युठानको सरुमारानी गाउँपालिका-३ गोठेरीमा २८ वर्षीया रुक्मनी बरालको हत्या भएको छ। उनलाई उनका पूर्वपति ३० वर्षीय लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन्। लिलबहादुरलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेश बस्यालका अनुसार, इजरायलमा कार्यरत रहेका लिलबहादुरले विदेशमा हुँदा रुक्मनीको परपुरुषसँग सम्बन्ध रहेको र विवाह गरेको थाहा पाएपछि हत्या गरेको बयान दिएका छन्।
रुक्मनीले लिलबहादुर स्वदेश फर्किनुभन्दा केही महिनाअघि नै दीपक परियारसँग दोस्रो विवाह गरेकी थिइन्। लिलबहादुर असार २४ गते घर फर्किएका थिए। श्रीमान दीपक १५ दिनअघि कामको लागि संखुवासभा गएको बेला रुक्मनी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्।
डिला परियारका अनुसार, आज बिहान १० बजेतिर लिलबहादुरले रुक्मनीलाई फोन गरेर भेट्न बोलाएका थिए। रुक्मनी घरभित्र पुग्नेबित्तिकै लिलबहादुरले उनलाई चक्कु प्रहार गरी हत्या गरेका हुन्। लिलबहादुरले प्रहरीलाई बताएअनुसार उनले रुक्मनीलाई फकाई घर फर्काउन खोजेका थिए तर उनले नमानेपछि हत्या गरेको स्वीकार गरेका छन्।
रुक्मनी र लिलबहादुरका ६ वर्षका छोरा र साढे तीन वर्षकी छोरी छन्। आमाको हत्या र बाबु जेल परेपछि दुई बालबालिका बिचल्लीमा परेका छन्। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ असार ३१ गते मंगलबार