काठमाडौं, चैत ३०
पर्साको वीरगञ्जमा एक प्रहरी जवानको कुटपिटबाट ज्यान गएको घटना सार्वजनिक भएको छ। आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका–९ मा प्रहरी जवान विकास चौरसियामाथि सामूहिक रूपमा आक्रमण हुँदा उनको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार अपराह्न केही युवकहरूको समूहले चौरसियामाथि अचानक आक्रमण गर्दै भारी वस्तु प्रहार गरी निर्घात कुटपिट गरेका थिए। स्थानीयवासीबाट सूचना प्राप्त हुनासाथ प्रहरी टोली केही मिनेटमै घटनास्थलमा पुगेको थियो।
गम्भीर घाइते अवस्थामा फेला परेका चौरसियालाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर चिकित्सकहरूले उपचारकै क्रममा उनलाई मृत घोषणा गरेका थिए।
मृतक चौरसिया सप्तरी दरबन्दीमा कार्यरत प्रहरी जवान हुन्। उनी बिदामा घर आएका बेला उक्त घटना भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जना युवाहरूलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण प्रेम सम्बन्धसँग जोडिएको देखिएको छ। प्रहरीका अनुसार मृतकको एक महिलासँग रहेको सम्बन्धका विषयमा विवाद उत्पन्न भई सोही कारण योजनाबद्ध रूपमा आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ।
घटनाको वास्तविक कारण र सम्पूर्ण विवरण भने विस्तृत अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे गहिरो अनुसन्धान गरिरहेको र दोषीमाथि कानुनी कारबाही गरिने बताइएको छ।










प्रतिक्रिया दिनुहोस्