२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

साङ्गेताडा एसएमएल दुर्घटना: मानवीय क्षतिको पूर्ण विवरण अझै खुल्न सकेन, रास्कोटका मेयर घटनास्थलतर्फ



२०८३ असार १९ गते
दैलेख

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका अन्तर्गत साङ्गेताडामा भएको एसएमएल गाडी दुर्घटनामा मानवीय क्षतिको पूर्ण विवरण अझै सार्वजनिक हुन सकेको छैन। हालसम्म दुई जनाको मात्रै परिचय खुलेको छ। प्रारम्भिक जानकारी अनुसार अधिकांश यात्रुहरु रास्कोट नगरपालिकाका नागरिक भएको आशंका गरिएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ रास्कोट नगरपालिकाका मेयर धर्मराज शाहीले दैलेख प्रहरीसँग निरन्तर समन्वय गर्दै खोज तथा उद्धार र पहिचान प्रक्रियाबारे जानकारी लिँदै आएको जनाएको छ।

यसै बीच, रास्कोट नगरपालिकाका मेयर धर्मराज शाही नगर प्रहरीको टोली सहित शुक्रबार घटनास्थल तर्फ प्रस्थान गरेका छन्। आफ्ना नगरवासी दुर्घटनामा परेको सूचना पाए लगत्तै मेयर शाही स्वयंम घटनास्थल पुगेर खोजतलास, उद्धार तथा आवश्यक समन्वयमा जुट्न लागेको टीका राम उपाध्यायले जनाइएका छन।

दुर्घटनामा कति जना सवार थिए, कति जनाको मृत्यु वा घाइते भएका छन् भन्ने आधिकारिक विवरण भने अझै सार्वजनिक भएको छैन। प्रहरीले उद्धार कार्यलाई तीव्र बनाएको छ भने थप विवरण आउने क्रम जारी रहेको छ।

प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रबार