२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

वीरेन्द्रनगरको सहिद पार्क नजिक जङ्गलमा युवक–युवती मृत फेला, शहरमा सनसनी



अशाेक शाही

सुर्खेत।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सहिद पार्क नजिकैको जङ्गल क्षेत्रमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेपछि शहरमा सनसनी फैलिएको छ। बुधबार बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटना वीरेन्द्रनगर नगरपालिका–४ अन्तर्गत पर्ने सहिद पार्क नजिकको जङ्गल क्षेत्रमा भएको हो। प्रहरीका अनुसार युवक र युवतीको शव एकै स्थानमा नभई केही मिटरको दूरीमा छुट्टाछुट्टै अवस्थामा भेटिएको छ, जसले घटनालाई थप शंकास्पद बनाएको छ।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता श्याम प्रकाश यादवले प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिए।

उनका अनुसार, “घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेका छौँ। मुचुल्का उठाउने काम भइरहेको छ। मृतकहरूको पहिचान हालसम्म खुलेको छैन र मृत्युको कारण पनि यकिन भइसकेको छैन।”

पर्यटकीय स्थलको रूपमा परिचित सहिद पार्क क्षेत्रमा यस प्रकारको घटना हुनुले स्थानीय बासिन्दा मात्र नभई सर्वसाधारणमा समेत त्रास र चिन्ता बढाएको छ। घटना हत्या, आत्महत्या वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि तयारी गरिरहेको र थप अनुसन्धानपछि मात्रै घटनाको वास्तविक कारण तथा मृतकको पहिचान सार्वजनिक गरिने जनाएको छ।

प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार