काठमाडौं ।
अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–११ मा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को उत्पादन केन्द्रमा प्रहरीले गस्ती गर्दै छापा मारेको छ।
नेकपा (माओवादी) का केन्द्रीय सदस्य सिंगम सीका अनुसार विप्लव नेतृत्वको माओवादीले सञ्चालन गर्दै आएको उक्त उत्पादन केन्द्रमा प्रहरीले अनावश्यक हस्तक्षेप गरेको हो। उनका अनुसार देशभर आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता–कार्यकर्ता बनाउने उद्देश्यसहित सञ्चालनमा रहेका उत्पादन केन्द्रहरूमा राज्य संयन्त्रबाट अवरोध सिर्जना गर्न खोजिएको छ।
विप्लव नेतृत्वको नेकपा (माओवादी) ले कृषि तथा खाद्यान्न उत्पादनमार्फत आत्मनिर्भर अर्थतन्त्रको अभ्यास गर्दै आएको दाबी गर्दै आएको छ। पार्टीले उत्पादन केन्द्रहरूलाई राजनीतिक होइन, श्रम र उत्पादनसँग जोडिएको अभियानको रूपमा अघि बढाइरहेको बताउँदै आएको छ। तर यस्ता केन्द्रहरूमा प्रहरी छापा हुनु राज्यको दमनकारी मानसिकताको निरन्तरता भएको पार्टीको ठहर छ।
पार्टी स्रोतका अनुसार नेकपा (माओवादी) ले निर्वाचन प्रक्रियामा सहभागी हुने निर्णय गरिसकेको छ र निर्वाचन आयोगमा औपचारिक रूपमा दर्ता समेत भइसकेको छ। यस्तो अवस्थामा पनि ‘माथिको आदेश’ भन्दै उत्पादन केन्द्रमा प्रहरी परिचालन हुनु शान्तिपूर्ण राजनीतिक अभ्यासमाथिको प्रश्न भएको माओवादीको आरोप छ।
स्थानीय बासिन्दाहरूले पनि प्रहरी प्रशासनले राज्य शक्तिको आडमा गाउँका बस्तीहरूमा समेत अनावश्यक खानतलासी गरेको बताएका छन्। उनीहरूका अनुसार उत्पादन केन्द्रमा प्रयोग हुने कृषि औजार—कोदालो, हँसिया जस्ता साधारण सामग्रीलाई समेत शंकाको दृष्टिले हेर्नु आश्चर्यजनक छ।
स्थानीय एक नागरिकले प्रश्न गरे,
“देशमा अझैसम्म लुटिएका अवैध हतियारहरू फिर्ता नआएको अवस्था छ, तर खेतबारीमा प्रयोग हुने कोदालो राज्यका लागि खतरा कसरी भयो ?”
राजनीतिक विश्लेषकहरूका अनुसार शान्तिपूर्ण उत्पादन र श्रममा आधारित अभियानमाथि हुने यस्ता हस्तक्षेपले अन्तरिम सरकार तथा राज्य संयन्त्रको प्राथमिकता र नियतमाथि गम्भीर प्रश्न खडा गरेको छ। उनीहरू भन्छन्—यदि राजनीतिक दलहरूलाई लोकतान्त्रिक अभ्यासमा समेट्ने हो भने उत्पादन र आत्मनिर्भरताका प्रयासलाई प्रोत्साहन गर्नुपर्छ, दमन होइन।
घटनाबारे जिल्ला प्रहरी कार्यालयले भने औपचारिक धारणा सार्वजनिक गरेको छैन।










प्रतिक्रिया दिनुहोस्