२०८३ वैशाख २५ , शुक्रबार
ताजा अपडेट:

संघीय र प्रदेश सरकार विघटन गरी अन्तरिम सरकार गठनको माग सहित जेनजीकाे अल्टिमेटम



 

अशाेक कुमार शाही

काठमाडौं, भदौ २४ –
नेपालमा राजनीतिक पुस्तान्तरणको माग गर्दै सुरु भएको जेनजी आन्दोलन आज आफ्नो सफलताको अन्तिम चरणमा पुगेको घोषणा गरेको छ। ‘जेनजी’ का प्रदर्शनकारीहरूले पुरानो सत्ताको विकल्पमा नयाँ सरकार गठनको माग राख्दै आफ्ना ५ बुँदे शर्तहरू सार्वजनिक गरेका छन्।

प्रमुख मागहरू

आन्दोलनकारीहरूले भदौ २३ गतेदेखि देशव्यापी रूपमा सुरु भएको आन्दोलनका क्रममा मारिएका सबैलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिइनुपर्ने र घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग गरेका छन्। त्यसैगरी, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै शीर्ष नेताहरूको सम्पत्ति छानबिन गरी फौजदारी मुद्दा चलाउनुपर्ने उनीहरूको भनाइ छ।
यसका साथै, उनीहरूले आन्दोलनका क्रममा भएका दमनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने, हालको संघीय र प्रदेश सरकार विघटन गरी अन्तरिम सरकार बनाउनुपर्ने र यसका लागि तत्काल जेनजी राष्ट्रिय सम्मेलन गर्नुपर्ने माग राखेका छन्।

सेनालाई संयमता अपनाउन आग्रह:

आन्दोलनकारीहरूले यस संक्रमणकालीन अवस्थामा नेपाली सेनाले कुनै पनि गैरलोकतान्त्रिक गतिविधि नगर्न र शान्तिपूर्ण रूपमा सहयोग गर्न आग्रह गरेका छन्। जेनजीले पुरानो राजनीतिक नेतृत्वसँग कुनै पनि सम्झौता नगर्ने अडान राखेको छ।

संविधान पुनर्लेखनको माग:

अन्तमा, आन्दोलनकारीले २०७४ सालको संविधानको मूल संरचनालाई जोगाउँदै यसलाई प्रगतिशील ढंगले पुनर्लेखन गर्नुपर्ने माग अघि सारेका छन्। उनीहरूले आन्दोलनलाई शान्तिपूर्ण बनाउन र व्यक्तिगत हमला वा सार्वजनिक सम्पत्तिको तोडफोड नगर्न आफ्ना समर्थकहरूलाई आग्रह पनि गरेका छन्।

रक्तपातपूर्ण दमन:

आन्दोलनका क्रममा भएको ‘जनसंहारकारी दमन’ मा ज्यान गुमाएका सबैलाई जेनजीले श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको बलिदानको बदलामा आन्दोलनलाई सफलताको अन्तिम बिन्दुमा पुर्‍याउने प्रतिबद्धता जनाएका छन्। आन्दोलनको थप जानकारीका लागि redsgenz@gmail.com मा सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ।

प्रकाशित मिति : २०८२ भदौ २४ गते मंगलबार