२०८३ साउन १२ , मंगलबार
ताजा अपडेट:

रौतहटमा आत्मदाहको प्रयास गरेका युवकलाई उपचारका लागि काठमाडौं ल्याइयो



२०८३ असार ३१ गते

जनकपुरधाम ।

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका रौतहटका एक युवकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीलाई वीर अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार सुरु गरिएको परिवारका सदस्यले जानकारी दिएका छन्।

प्रहरीका अनुसार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगलागीबाट उनको घाँटीदेखि तलसम्मको करिब ३१.५ प्रतिशत शरीर जलेको बताइएको छ।

घटनापछि उनलाई तत्काल गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालले बुधबार बिहान करिब ४ बजे प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी चौकी बिर्ताबाट प्रहरी सहायक निरीक्षक मनोज दासको कमाण्डमा टोली घटनास्थल तथा अस्पतालमा खटिएको थियो।

प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा रेफर गरिएको भए पनि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ।

घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३ असार ३१ गते बुधबार