२०८३ वैशाख २६ , शनिबार
ताजा अपडेट:

कास्की बाटु छुटेका लामिछाने काठमाडौं अदालतमा उपस्थित हुने



काठमाडौं
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृह मन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।

लामिछाने विरूद्ध काठमाडौंमा पनि सहकारी सम्बन्धी अर्को मुद्दा रहेकाले आज (शुक्रबार) उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रा.स्व.पा.का कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

अदालत बाट छुटे पछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेश अनुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासत बाट रिहा भएका हुन् ।

उनी सँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई ५ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई ५ लाख र कृष्णबहादुर गुरूङलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँले भने धरौटी रकम बुझाउन नसके पछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

अदालतमा १० दिन सम्म भएको थुनचेक बहस पछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछाने सहित ४४ जना विरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिले सम्म ६३ जना विरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए ।
रासस

प्रकाशित मिति : २०८१ पुस २६ गते शुक्रबार