२०८३ असार १९ , शुक्रबार
ताजा अपडेट:

कालिकोटमा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु



अशाेक शाही

कालिकोट —

कालिकोट जिल्लाको रास्कोट नगरपालिका–८ बाखरकोटमा विद्युत् करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६७ वर्षीय मन बराल रहेका छन्।

स्थानीयका अनुसार बराल बाख्रा चराउन घर नजिकैको बाजो खरमेलो क्षेत्रमा पुगेका थिए। सो स्थानमा रहेको राष्ट्रिय प्रसारण लाइनको विद्युत् पोल नजिक तार सट भई पोलमै करेन्ट प्रवाह भइरहेको अवस्थामा उनी पोल नजिक पुगेपछि करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ।

करेन्टले तानेर उनी पोलमै टाँसिएको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छन्।

घटनास्थलमा रहेका रास्कोट नगर प्रहरी प्रमुख धनबहादुर शाहीका अनुसार विद्युत् तार सट भएर पोलमा करेन्ट प्रवाह भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जनाइएको छ।

घटनापछि स्थानीय बासिन्दाले विद्युत् संरचनाको सुरक्षा र नियमित मर्मतसम्भारमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने तथा नागरिकलाई विद्युत् सुरक्षासम्बन्धी सचेतना कार्यक्रम आवश्यक रहेको बताएका छन्।

 

प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार