३१ असार, काठमाडौं ।
नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको स्पष्ट जवाफ नआएसम्म संसद विपक्षी दलहरूको विरोध जारी रहने भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारले संसद स्पष्ट धारणा प्रस्तुत गर्नुपर्ने बताएका हुन्।
उनले भने, “सम्माननीय प्रधानमन्त्री बालेन शाहले नेपाल र भारतको सीमासम्बन्धी दिएको अभिव्यक्तिका विषयमा सरकारले स्पष्ट धारणा संसद पेश गर्नुपर्छ। त्यसो नभएसम्म प्रतिपक्षका तर्फबाट विरोध जारी रहनेछ।”
प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा नेपाल र भारतबीचको सीमा अतिक्रमणबारे विवादास्पद अभिव्यक्ति दिएका थिए।
त्यसक्रममा उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको मात्र नभई नेपालबाट पनि भारतको भूमि विभिन्न स्थानमा मिचिएको आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले लगातार विरोध जनाउँदै आएका छन्। उनीहरूले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्ने तथ्य र प्रमाण संसद प्रस्तुत गर्नुपर्ने माग गरेका छन्।
तथ्य र प्रमाण प्रस्तुत गर्न नसक्ने अवस्थामा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिँदै संसद् र नेपाली जनतासमक्ष माफी माग्नुपर्ने विपक्षी दलहरूको माग छ।
विपक्षी सांसदहरूले सीमा जस्तो राष्ट्रिय संवेदनशीलतासँग जोडिएको विषयमा प्रधानमन्त्रीबाट गैरजिम्मेवार अभिव्यक्ति आएको आरोप लगाएका छन्। सरकारले यस विषयमा स्पष्ट जवाफ नदिएसम्म संसद्को कारबाही सहज रूपमा अघि बढ्न नदिने उनीहरूको चेतावनी छ।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे सरकारले भने हालसम्म संसद्मा औपचारिक स्पष्टीकरण दिएको छैन। सीमा विवादको विषयलाई लिएर सत्तापक्ष र विपक्षी दलबीच तनाव बढ्दै गएको छ।










प्रतिक्रिया दिनुहोस्