२०८३ वैशाख २७ , आइतबार
ताजा अपडेट:

जेनजी पुस्ताको नयाँ आन्दोलन: ‘नेपो बेबी ट्रेन्ड’ र भ्रष्टाचार विरुद्धको प्रदर्शन



काठमाडौं।

सामाजिक सञ्जालमा मात्रै सीमित रहने गरेको भर्चुअल आक्रोश अब सडकमा पोखिन थालेको छ। युवा पुस्ताको जेनजीले भदौ २३ गते (सोमबार) भ्रष्टाचार र असमानताविरुद्ध काठमाडौंको माइतीघर मण्डला र संसद् भवन अगाडि प्रदर्शन गर्ने घोषणा गरेका छन्।
टिकटक र फेसबुकमा सुरु भएको ‘नेपो बेबी ट्रेन्ड’ नै यो आन्दोलनको प्रमुख कारण मानिएको छ। नेताका छोराछोरीको विलासी जीवनशैली र आम युवाले भोग्नुपरेको संघर्षबीचको खाडललाई यो आन्दोलनले उजागर गर्न खोजेको छ। समाजशास्त्रीहरूका अनुसार यो आन्दोलन नयाँ पुस्तामा बढ्दो राजनीतिक चेतनाको संकेत पनि हो।
काठमाडौं बाहेक पोखरा, धरान, इनरुवा लगायतका अन्य शहरहरूमा पनि जेनजीले आन्दोलनको तयारी गरिरहेको खबर बाहिर आएको छ।

यो आन्दोलन कुनै राजनीतिक दल वा संगठनको झण्डाविना नै स्वतःस्फूर्त रूपमा सुरु भएको हो, जसलाई पुराना पुस्ताका नागरिकले पनि समर्थन जनाइरहेका छन्।
सोमबारको प्रदर्शनले जेनजीको यो आक्रोश केवल हल्ला मात्र हो वा यसले नेपालको राजनीतिक संस्कृतिमा साँच्चिकै नयाँ अध्याय सुरु गर्छ भन्ने प्रश्नको जवाफ दिनेछ।

प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार