सुर्खेत, असार १४ आइतबार
२४ महिने प्रि–डिप्लोमा औद्योगिक प्रशिक्षार्थी अर्थात् अप्रेन्टिसिप कार्यक्रममा अध्ययनरत प्रशिक्षार्थीहरूबीच आयोजित प्रदेशस्तरीय सीप प्रतिस्पर्धा तथा नवप्रवर्द्धन कार्यक्रम आइतबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ।
सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालन भइरहेको इन्स्योर (ENSSURE) परियोजनाको आयोजनामा सम्पन्न कार्यक्रममा सूचना प्रविधि र सिभिल इन्जिनियरिङ विषय अध्ययनरत प्रशिक्षार्थीहरूले आफ्नो व्यवहारिक सीप, सिर्जनशीलता र नवप्रवर्द्धनात्मक क्षमता प्रस्तुत गरेका थिए।
कार्यक्रमको उद्देश्य प्रशिक्षार्थीहरूमा व्यवहारिक सीपको विकास गर्नु, वास्तविक जीवनका समस्या समाधान गर्ने क्षमता अभिवृद्धि गर्नु, स्थानीय समस्याको समाधानमा इन्जिनियरिङ सोच विकास गर्नु, नवप्रवर्द्धनात्मक डिजाइन तथा निर्माण प्रविधिलाई प्रवर्द्धन गर्नु, प्राविधिक तथा व्यावसायिक शिक्षाप्रति आकर्षण बढाउनु तथा सीपप्रतिको सम्मानको वातावरण सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।
उद्घाटन सत्र सामाजिक विकास मन्त्रालयका शिक्षा अधिकृत वलबिर सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष धनबहादुर रावत प्रमुख अतिथि रहेका थिए भने इन्स्योरका प्रदेश प्रबन्धक कुशबहादुर गुरुङ, विद्यालयका प्रधानाध्यापक, तालिम संयोजक तथा विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो।
वृद्धि मार्गदर्शन सेवा केन्द्रबाट वृद्धि मार्गदर्शन तथा डिजिटल प्लेटफर्ममार्फत सहभागीहरूलाई डिजिटल प्लेटफर्ममा असाइनमेन्ट गरिएको थियो। उक्त कार्यक्रमको सहजीकरण करियर काउन्सेलर गंगा श्रेष्ठले गर्नुभएको थियो।
कार्यक्रममा स्वागत तथा उद्देश्यबारे इन्स्योरका प्रदेश प्रबन्धक कुशबहादुर गुरुङले प्रकाश पार्नुभएको थियो। उहाँले औद्योगिक प्रशिक्षार्थी कार्यक्रमले युवाहरूलाई रोजगारमुखी सीप प्रदान गर्दै उद्योगसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण माध्यमको रूपमा काम गरिरहेको बताउनुभयो। उद्घाटन सत्रको समापन शिक्षा अधिकृत वलबिर सुनारले शुभकामना मन्तव्यसहित गर्नुभएको थियो।
उद्घाटनपछि सिभिल इन्जिनियरिङतर्फ योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठान, कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयका प्रशिक्षार्थीहरूबीच प्रतिस्पर्धा भएको थियो। सूचना प्रविधितर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय र मालिका माध्यमिक विद्यालयका प्रशिक्षार्थीहरूले नवप्रवर्द्धनात्मक परियोजना प्रस्तुत गरेका थिए।
निर्णायक मण्डलले मूल्यांकन सम्पन्न गरेपछि आयोजित समापन समारोह सामाजिक विकास मन्त्रालयकी सचिव रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक धनबहादुर रोकाया, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी प्रधानाध्यापिका भूमिसरा चपाई तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष धनबहादुर रावतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रतिस्पर्धाको नतिजाअनुसार सिभिल इन्जिनियरिङतर्फ कृष्ण संस्कृत माध्यमिक विद्यालयका सुजन कुमार डाँगी प्रथम, योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानकी मेनुका गाहा मगर द्वितीय तथा महेन्द्र माध्यमिक विद्यालयका यामु विक तृतीय भएका थिए।
त्यसैगरी सूचना प्रविधितर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका कञ्चन खड्का प्रथम, दुर्गा रावत द्वितीय तथा मालिका माध्यमिक विद्यालयकी सीता शर्मा तृतीय भएका थिए।
विजेताहरूलाई क्रमशः रु. १० हजार, रु. ८ हजार र रु. ६ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो। साथै औद्योगिक प्रशिक्षार्थी तालिम सञ्चालनमा सहयोग पुर्याउने नेपाल उद्योग वाणिज्य महासंघ, सहभागी विद्यालय तथा सम्बन्धित उद्योगहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो।
समापन समारोहमा वक्ताहरूले शिक्षा सीपसँग र सीप रोजगारीसँग जोडिएपछि मात्रै शिक्षाको वास्तविक सार्थकता हुने धारणा व्यक्त गरेका थिए। उनीहरूले विजेता प्रशिक्षार्थीहरूलाई बधाई दिँदै सहभागी सम्पूर्ण विद्यालय, उद्योग, अभिभावक, नेपाल उद्योग वाणिज्य महासंघ र इन्स्योर परियोजनाको टोलीप्रति आभार व्यक्त गरेका थिए।
सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालन भइरहेको इन्स्योर परियोजनालाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गरिरहेको छ। कार्यक्रममा विद्यालय, उद्योग, विद्यार्थी, अभिभावकलगायत करिब ५०० जनाको उल्लेखनीय सहभागिता रहेको थियो। उक्त कार्यक्रमकाे संचालन सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद अधिकृत तथा इन्स्याेरकाे फाेकल प्रसन रमेश खत्री ज्यु ले गर्नु भएकाे थियाे ।











प्रतिक्रिया दिनुहोस्