प्रकाश सी
नेपाल यतिबेला गम्भीर राजनीतिक संकटको दोबाटोमा उभिएको छ। सत्ता–संघर्ष, अवसरवाद, बाह्य हस्तक्षेप र आन्तरिक दलालीको जालोले देशको राजनीति झन् पेचिलो बन्दै गएको छ। राष्ट्रियता, स्वाधीनता, जनजीविका र सुशासनजस्ता आधारभूत सवालहरू ओझेलमा पर्दै जाँदा जनताको भरोसा राजनीतिक प्रणालीबाट क्रमशः खस्किँदै गएको यथार्थ अब लुकाउन सकिने अवस्थामा छैन।
विभिन्न देशी–विदेशी शक्तिहरू नेपाललाई आफ्नो स्वार्थअनुसार चलाउने प्रयासमा सक्रिय देखिन्छन्। उनीहरूका दलाल संरचनाहरूले राजनीतिक दल, नेतृत्व र राज्य संयन्त्रभित्रै गहिरो प्रभाव जमाएका छन्।
निष्ठा, अनुशासन, पारदर्शिता, जनमुखी सोच, समावेशिता, इमान्दारी र जवाफदेहिताको अभावले आजको राजनीति मूल्यहीन प्रतिस्पर्धामा सीमित बनेको छ।
सामाजिक जिम्मेवारीको कुनै अनुभूति नभएका केही पात्रहरू व्यक्तिगत स्वार्थ सिद्ध गर्न चर्को राष्ट्रवादी भाषण र खोक्रो नारामा रमाइरहेका छन्। उनीहरूले जनतामाझ भ्रम सिर्जना गरिरहेका छन्, जसको प्रत्यक्ष असर लोकतान्त्रिक चेतनामाथि परिरहेको छ।
जनआन्दोलन र परिवर्तनका उपलब्धिलाई आत्मसात् गर्न नसकेका, विशेषगरी जेन–जी विद्रोहबाट पराजित तत्वहरू आज पनि “हामी अझै बाँकी छौँ” भन्ने भ्रमपूर्ण सन्देश फैलाउँदै छन्।
विडम्बनाको कुरा के छ भने, जेन–जी विद्रोहजस्ता ऐतिहासिक बलिदानलाई कमजोर बनाउने पात्रहरू नै आज अर्थहीन कुतर्क गर्दै परिवर्तनको भाष्य कब्जा गर्न खोजिरहेका छन्। यस्ता शक्तिहरूबाट वर्तमान राजनीतिक संकटको समाधान खोज्नु भनेको मरुभूमिमा पानी खोज्नुजस्तै हो।
यही सन्दर्भमा, विगत लामो समयदेखि राष्ट्रियता, स्वाधीनता, जनजीविका, राष्ट्रघाती सम्झौता, महँगी, कालोबजारी, मौलाउँदै गएको भ्रष्टाचार र राज्यव्यापी बेथितिविरुद्ध निरन्तर आवाज उठाउँदै आएको पार्टीको रूपमा नेकपा (माओवादी) फरक पहिचानसहित उभिएको देखिन्छ।
नेकपा (माओवादी) ले केवल सत्ताको खेल होइन, संरचनात्मक परिवर्तनको राजनीति गर्दै आएको दाबी गर्दै आएको छ। जनयुद्धदेखि गणतन्त्र, संघीयता र समावेशी राज्य संरचनासम्मको यात्रामा यसको भूमिका अस्वीकार गर्न नसकिने ऐतिहासिक तथ्य हो। जनताका मुद्दालाई सडक, सदन र सरकार तीनै तहबाट उठाउने क्षमता आज पनि यही पार्टीसँग बढी देखिन्छ।
राजनीतिक संकट चरमचुलीमा पुगेको वर्तमान अवस्थामा, व्यवस्थाभित्रै बसेर व्यवस्थाको सुधार र पुनर्संरचनाको बहस अगाडि बढाउन सक्ने सामर्थ्य नेकपा (माओवादी) सँग मात्र रहेको निष्कर्षमा पुग्न सकिन्छ।
जनताको भरोसा पुनः स्थापित गर्न, राजनीतिक दिशाहीनतालाई चिर्न र राष्ट्रिय हित केन्द्रमा राखेर निर्णय गर्न सक्ने साहस अहिले यही धारबाट सम्भव देखिन्छ।
अतः आजको नेपाली राजनीतिक संकट कुनै एक सरकार वा एक निर्वाचनले मात्र हल हुने विषय होइन। यसका लागि स्पष्ट दृष्टिकोण, संघर्षको इतिहास, जनतासँगको सम्बन्ध र परिवर्तनको प्रतिबद्धता आवश्यक छ—जुन तत्वहरूको समष्टि नेकपा (माओवादी) सँग अझै जीवित देखिन्छ। यही कारण, वर्तमान संकटको समाधान दिन सक्ने राजनीतिक सामर्थ्य माओवादीसँग मात्र रहेको दाबी समयसापेक्ष बहसको केन्द्रमा आएको छ










प्रतिक्रिया दिनुहोस्