दुल्लु, दैलेख ।
नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय दुल्लु, दैलेखको आयोजनामा ‘केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम’ भव्यताका साथ सम्पन्न भएको छ।
संस्थाले आफ्नो सेवा विस्तार र सदस्यहरूको आर्थिक उन्नतिका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू सार्वजनिक गर्दै उक्त कार्यक्रम सम्पन्न गरेको हो।
शाखा कार्यालयले दिएको जानकारी अनुसार, वि.सं. २०७५ भदौमा स्थापना भएको यस शाखाले हालसम्म दुल्लुनगर्पालिका भैरवी गाउँपालिका र चामुण्डा बिन्द्रासैनी नगरपालिकाका विभिन्न क्षेत्रमा प्रभावकारी सेवा दिँदै आएको छ।
हालसम्म १,०६५ जना सदस्यहरू यस शाखामा आबद्ध भएका र सदस्यहरूबाट कुल २ करोड ८२ लाख रुपैयाँ बचत संकलन गर्न संस्था सफल भएको छ।
४१२ जना सदस्यहरूलाई विभिन्न व्यवसाय र उद्यम सञ्चालनका लागि ९करोड ७५लाख ३० हजार रुपैयाँ कर्जा प्रवाह गरिएको छ।
नेसनल लघुवित्तले वित्तीय कारोबारका साथै सामाजिक कार्यमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। संस्थाले उपलब्ध गराएको विवरण अनुसार: दैविक प्रकोपबाट पीडित सदस्यहरूलाई ४,००० रुपैयाँ राहत प्रदान गर्नुकाेसाथै सुत्केरी सदस्यहरूको स्याहारका लागि २,५०० रुपैयाँ पोषण खर्च उपलब्ध गराइएको छ।
सदस्यका छोराछोरीले SEE परीक्षामा ‘A’ ग्रेड ल्याएमा ३,००० देखि ७,००० रुपैयाँसम्म छात्रवृत्ति प्रदान गर्ने र सदस्यको मृत्यु भएमा आश्रित परिवारलाई २२,००० रुपैयाँसम्मको राहत रकम प्रदान गरिँदै आएको जानकारी शाखा प्रमुख श्री पृथ्वी शाहीले जानकारी दिनु भएकाे छ ।
उक्त गोष्ठीमा प्रमुख अतिथि दुल्लु नगर पालिका वडा नं ७ का अध्यक्ष श्री कविराम रावत, विशिष्ट अतिथि तथा केन्द्रीय कार्यालय प्रतिनिधि श्री विनोद पाण्डेय ज्यु ले सहजिकरण गर्नुभएको र विभिन्न समूहका अध्यक्षहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै शाखाका प्रतिनिधिले सदस्यहरूको अटुट विश्वासकै कारण छोटो समयमा संस्थाले उल्लेख्य प्रगति गर्न सफल भएको बताउनुभयो।
सहभागी केन्द्र प्रमुखहरूले संस्थाले प्रदान गरेको सेवाले ग्रामीण क्षेत्रका महिलाहरूलाई स्वरोजगार बन्न र आर्थिक रूपमा सबल हुन ठूलो मद्दत पुगेको धारणा व्यक्त गरेका थिए। कार्यक्रमको समापनमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले आगामी दिनमा अझै परिष्कृत सेवा दिने प्रतिबद्धता जनाएको छ।











प्रतिक्रिया दिनुहोस्