२०८३ असोज ५ गते
समाचार सारांश
- काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा अचानक आगलागी भएको छ।
- आगलागीमा बसका चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्।
- उनलाई उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ।
- आगलागीको कारण खुल्न नसकेको र प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।
काठमाडौं ।
काठमाडौंको त्रिपुरेश्वरमा सोमबार मध्यान्ह यात्रुवाहक बसमा अचानक आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।
त्रिपुरेश्वरमा गुडिरहेको रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको बसमा एक्कासी आगलागी भएको हो। आगलागीपछि बस पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ।
आगलागीमा बसका चालक २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनको शरीरका अधिकांश भाग जलेको र अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
घाइते लामालाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो। चिकित्सकका अनुसार उनको अवस्था चिन्ताजनक रहेको छ।
बसमा आगलागी भएपछि केही समय त्रिपुरेश्वर क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको थियो। आगलागीको कारण भने हालसम्म स्पष्ट हुन सकेको छैन।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। आगलागीको वास्तविक कारण तथा घटनामा अन्य क्षति भए–नभएकोबारे थप विवरण आउन बाँकी छ।










प्रतिक्रिया दिनुहोस्