सुर्खेत ।
प्रशोधित पिउने पानीको सिलप्याक बोतलभित्रै फोहोर र किरा भेटिएपछि सुर्खेतको वीरेन्द्रनगर–२ स्थित ‘तिला कर्णाली’ पानी प्रशोधन उद्योगमा शिलबन्दी गरिएको छ।
उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले उद्योगको उत्पादन र बिक्री–वितरणमा पूर्ण रोक लगाएको हो।
उपभोक्ताको उजुरीपछि अनुगमन
एक उपभोक्ताले आफूले खरिद गरेको पानीको बोतलमा किरा र फोहोर देखेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ‘प्रमाणसहित’ उजुरी दिएका थिए। सोही उजुरीका आधारमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र स्थानीय प्रशासनसहितको संयुक्त टोलीले उद्योगमा आकस्मिक अनुगमन गरेको थियो।
अनुगमनका क्रममा उद्योग भित्र चरम लापरबाही र मापदण्ड विपरीतका गतिविधि फेला परेका थिय।
संयुक्त टोलीको जाँचका क्रममा देखिएका मुख्य कमजोरीहरू यस प्रकार छन्:
फिलिङ च्याम्बरको कभर भाँचिएको।
माइक्रो फिल्टरबाट पानी चुहिएको अवस्था।
प्रशोधन कक्षभित्रै अनावश्यक सामानहरू थुपारिएको।
कीट नियन्त्रण (Pest Control) का मापदण्डहरूको पूर्ण उल्लङ्घन। उद्योगमा अनिवार्य मानिने ‘वन वे फ्लो’ (One Way Flow) प्रणाली पालना नगरिएको।
देखिए पछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सन्तोष दाहालका अनुसार, उद्योगको हालको अवस्थाले उत्पादित पानी मानव स्वास्थ्यका लागि जोखिमपूर्ण देखिएकोले तत्कालै उद्योग ‘शील’ गरिएको छ।
अनुगमन टोलीले प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका (कुच्चिएका) १९ लिटरका १४ थान जारहरू घटनास्थलमै नष्ट गरेको छ। साथै, उद्योगलाई फिलिङ च्याम्बर र माइक्रो फिल्टर मर्मत गर्न, प्रशोधन कक्ष सफा राख्न र ‘प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिका, २०७५’ का मापदण्डहरू पूर्ण रूपमा पालना गर्न कडा निर्देशन दिइएको छ।
सुधारका काम सम्पन्न गरी मापदण्ड पूरा नभएसम्म उद्योगको उत्पादन तथा बिक्री बन्द रहने कार्यालयले जनाएको छ।










प्रतिक्रिया दिनुहोस्