सविना शाही
कालिकोट ।
रास्कोट नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनका लागि बायोमेट्रिक रुजु तथा नवीकरण कार्यक्रम सम्पन्न भएको छ।
नगरपालिकाको सभा हलमा आयोजित एक दिने अभिमुखीकरण तथा तालिम कार्यक्रमपछि नगर प्रमुख, धर्मराज शाही उप-प्रमुख मनिराज बराल र प्रमुख प्रशासकीय अधिकृत जवान सिंह बमले वडा सचिवहरूलाई बायोमेट्रिक डिभाइस हस्तान्तरण गर्नुभएको थियाे।
तालिम कार्यक्रममा सम्पूर्ण वडा सचिवहरूलाई सामाजिक सुरक्षा भत्ताको नवीकरण र नयाँ लाभग्राहीहरूको दर्ता प्रक्रियामा बायोमेट्रिक प्रणाली कसरी प्रयोग गर्ने भन्नेबारे विस्तृत जानकारी गराइएको थियो।
नगरपालिकाले यस प्रविधिको प्रयोगबाट वास्तविक लाभग्राहीहरूले मात्र भत्ता पाउने सुनिश्चित गर्ने र दोहोरोपना तथा अनियमितता हटाउने लक्ष्य लिएको छ।
कार्यक्रमको समापन गर्दै नगर प्रमुखज्यूले यो प्रविधिले भत्ता वितरण प्रणालीमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।
उहाँले वडा सचिवहरूलाई यस प्रविधिको सही तरिकाले प्रयोग गरी सेवाग्राहीलाई सहज र छिटो सेवा प्रदान गर्न निर्देशन दिनुभयो।
उप-प्रमुखज्यूले पनि सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितताको गुनासोलाई सम्बोधन गर्न यो प्रविधि महत्त्वपूर्ण हुने बताउनुभयो। प्रमुख प्रशासकीय अधिकृतज्यूले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न र बायोमेट्रिक प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा सचिवहरूलाई आग्रह गर्नुभयो।
यस कार्यक्रमले रास्कोट नगरपालिका भित्रका सम्पूर्ण लाभग्राहीहरूको विवरण अद्यावधिक गर्न र उनीहरूलाई घर नजिकैको वडा कार्यालयबाटै सेवा उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। यसले गर्दा भत्ता लिन लामो दूरी तय गर्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएकाे नगर प्रमुख शाहीले बताउनु भएकाे छ ।











प्रतिक्रिया दिनुहोस्